काठमाडौं । औद्योगिक क्षेत्रमा लोडसेडिङको विकराल समस्या समाधान गर्न भारतबाट विद्युत् आयात गर्ने पहलको परिणामस्वरूप लोडसेडिङ घटाइएकोमा उद्योगीहरूले खुसी व्यक्त गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उर्जा मन्त्रालय र सरकारलाई फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले धन्यवाद ज्ञापित गरेको छ।

एसोसियसनले एक प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा लोडसेडिङका कारण उत्पादनमूलक उद्योगहरूमा प्रत्यक्ष असर परेको बताएको छ। एसोसियसनका अनुसार, यसको कारण उद्योगहरूलाई आफ्नो पूर्ण क्षमता प्रयोग गर्न कठिनाइ भएको छ र निर्यातमुखी उत्पादनमा अवरोध आएको थियो। यसले उद्योगको आम्दानी र सरकारको राजश्वमा कमी ल्याएको र समग्र अर्थतन्त्रमा नकारात्मक असर पुर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा थप भनिएको छ कि, स्वदेशी श्रम र सीपमा आधारित कच्चा पदार्थ र उत्पादनलाई प्रवर्द्धन गर्दै नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन निरन्तर प्रयासरत निर्यातमुखी उद्योगहरूले विगतमा दैनिक १२ घण्टासम्म लोडसेडिङको समस्यासँग जुझिरहेको उल्लेख गरिएको छ। यसले असुरक्षा र अनिश्चितताको विकराल समस्या सिर्जना गरेको थियो।
तर, हालै भारतबाट थप विद्युत् आयात गरिएपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न सुरु गरेको छ। यससँगै अब औद्योगिक क्षेत्रलाई निरन्तर चौविसै घण्टा विद्युत् उपलब्ध हुने आशा गरिएको छ।
एसोसियसनले स्वदेशी कच्चा पदार्थ र उत्पादनको उपभोग र निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सृजन, र नयाँ उद्यमीहरूको विकासमा महत्त्वपूर्ण योगदान दिएको जनाएको छ। यसका साथै, सङ्गठित उद्योगहरूले निर्यातमार्फत राज्य र अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको पनि तथ्यांकद्वारा प्रमाणित भएको छ।
तथापि, एसोसियसनले लामो समयदेखि निर्यातका लागि सरकारले दिने नगद सहुलियत रकम रोकिएकोमा गुनासो गर्दै, सरकारको ध्यानाकर्षण गराएको छ र शीघ्र सहुलियत रकम प्रदान गर्न अनुरोध गरेको छ।