
मूर्खको औषधि हुन्न भन्छन्, नभन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अवकाशको मुखमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएर यो कुरा पुष्टि गरेका छन् । साँच्चै भन्ने हो भने चारपटक प्रधानमन्त्री भएका ओलीले भन्दा राम्रो काम कुलमान घिसिङले गरेर देखाइदिएका छन् ।
सुशासन र कार्यक्षमतामा ओली असफल, कुलमान सफल भएको कुरा सबैले देखेका छन् । राम्रोलाई पुरस्कृत, नराम्रोलाई दण्डित गर्ने लोकतन्त्रको मूल्य र मान्यता हो । तर, त्यसको विपरीत ओली शासनमा ‘चोरलाई चौतारो, साधुलाई सूली’ चढाउने काम भएको छ ।
प्रधानमन्त्री जस्तो व्यक्तिले बुद्धि विवेक गुमाउँदा देशले ठूलो क्षति व्यहोर्नुपरेको छ । लगातार घाटामा गएको प्राधिकरणलाई अर्बौँ नाफामा लैजानु र लोडसेडिङको अन्त्य गर्नु नै कुलमानका लागि ठूलो अपराध भयो ।
अन्य, सरकारी संस्थानजस्तो घाटामा लगेर संस्थान नै ध्वस्त बनाएको भए सायद, ओली खुसी हुन्थे होलान् । तै पनि एमालेजनहरु कुलमानलाई हटाएकोमा हर्षबढाइँ गर्दैछन् । यो भन्दा लज्जाको कुरा लोकतन्त्रमा अरू के हुनसक्छ ?
देश बनाउने कुरा त्यति सजिलो छैन । देश भाषण, गफ र उखान टुक्काले बन्दैन । देश बनाउन कुलमानजस्ता इमानदार, लगनशील कर्मचारीहरूको आवश्यकता पर्छ । सिङ्गो कर्मचारी प्रशासन दलीयकरण भएकोले प्रशासनयन्त्र पंगु बनेको छ ।
ओली चारपटक प्रधानमन्त्री हुँदा जनताका लागि उनले के राम्रो काम गरे, एउटा उदाहरण दिन सकेका छैनन् । उनले गरेका हरेक काम विवादमा पर्दै आएको छ । सुशासनको चर्को गफ गर्ने ओली स्वयं नीतिगत भ्रष्टाचारमा मुछिएका छन् ।
स्विस बैंकमा आफ्नो पत्नीका नाममा रकम जम्मा गरेको र कम्बोडियाको टेलिकममा शेयर खरिद गरेको कुरा नेपाली मिडियाबाट होइन, फ्रेन्च अनलाइनले उजागर गरेको छ । त्यत्रो पैसा कहाँबाट आयो पक्कै पनि एक दिन नेपाली जनताले खोज्ने छन् ।
शासकहरू भ्रष्ट भयो भने लोकतन्त्र कति कमजोर हुन्छ भन्ने कुरा ओलीका विरुद्ध दिनहुँको विरोध प्रदर्शनले देखाएको छ । तर ओली निरोले जस्तै रोम जलिरहँदा बाँसुरी बजाएर बालुवाटारमा बसेका छन् ।
उनको गलत क्रियाकलापविरुद्ध सडक, सदनमा आवाज उठिरहँदा उनी थप तानासाह बन्ने ध्याउन्नमा छन् । सदनप्रति उनको कुनै जबाफदेहिता छैन । यस्तो ‘मूर्ख’ प्रधानमन्त्रीले देशलाई कुन भड्खालोमा जाक्ने हुन्, त्यो त भविष्यले देखाउने नै छ । आफ्नो पतन आफैँ निम्त्याउन उनले हरेक कार्यक्रममा जनविरोधी अभिव्यक्ति दिँदै आएका छन् ।
सिङ्गो सामाजिक सञ्जाल ओलीको विपक्षमा छ । सरकारी मुखपत्रबाहेक सिङ्गो मिडिया ओलीको विरुद्ध छ । एमालेभित्र पनि कतिपय इमानदार नेता, कार्यकर्ताहरूले ओलीले ठिक गरेनन् भन्ने निष्कर्ष छ । तर, उनको अगाडि कसैले केही बोल्न सक्दैनन् । उनले जस्तोसुकै अपराध गरे पनि ठिकै गरे भन्न बाध्य छन् ।
आलोचनात्मक चेत भएका एमाले कार्यकर्ताहरूलाई एक एक गरेर प्रतिशोध लिने काम भएको छ । एमालेभित्र बलेको ‘भूस भित्रको भुम्रो’ कतिबेला डढेलोमा परिणत हुने हो कसैलाई थाहा छैन ।
समग्रमा भन्दा ओली निरङ्कुश तानासाह बन्न खोज्दैछन् । देशले निकास खोजेको छ । छिमेकीहरू ओलीको अराजक गतिविधिबाट आजित छन् । ओलीको अराजक गतिविधिले राजावादीहरूलाई मलजल गरेको छ । सडक आन्दोलन दमन गरे आगोमा घिउ थप्ने काम ओलीले गरेका छन् । आफूले केही गर्न नसकेपछि आफू निकट मिडियामा २०४६ साल अगाडि देशको अवस्था कस्तो थियो र अहिले यस्तो छ भनेर तथ्याङ्क प्रकाशित गरेका छन् ।
विकासको आफ्नो गति हुन्छ र त्यो त्यही गतिमा अगाडि विकास बढ्छ भन्ने कुरा हेक्का नराखी हुटिट्याउँले आकाश थामेजस्तो गरिरहेका छन् । मानौँ पृथ्वी नै दिनरात ओलीले नै घुमाइरहेका छन् । यो त अति भयो । जनता सहने पक्षमा छैनन् । जनता बरु मर्न तयार छन्, यस्तो अन्याय र अराजकता सहने पक्षमा छैनन् । विश्व इतिहासमा जनता हारेको इतिहास लेखिएको छैन ।
अन्ततः जनता विजयी हुँदा हार्ने त एक्लो ओली हुन् । नेपाली जनता ‘गर कि मर’भन्ने अवस्थामा पुगिसके । अब पनि बुद्धिको बिर्को नखोल्ने हो भने इतिहासले दण्ड दिने समय आउँदै छ ।