काठमाडौं । लेबनानी फरवार्ड अहमद हिजाजीले दुई गोल प्रहार गरेपछि साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बुटवल लुम्बिनी एफसीलाई -१ को फराकिलो अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि हिजाजीले दुई गोल गरे भने कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले एक-एक गोल गरे। बुटवलको तर्फबाट जापानी खेलाडी केन्टा हाराले एक गोल फर्काए।
कूल चार गोल विदेशी खेलाडीको नाममा रह्यो। हिजाजीले खेलको छैटौं मिनेटमै गोल गर्दै धनगढीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३१औं मिनेटमा केन्टा हाराले बराबरी गोल गरेपछि बुटवल खेलमा फर्किएको थियो।
पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा धनगढीले उत्कृष्ट प्रदर्शन गर्यो। दोस्रो हाफमा तीन गोल गरेको धनगढीले इन्जुरी टाइममा दुई गोल थप्यो। मार्की खेलाडी कृतिश रत्न छुन्जुले ७५औं मिनेटमा एकल प्रयासमा गोल गर्दै टिमलाई पुनस् अग्रता दिलाए। त्यसपछि धनगढीको आक्रमण रोकिएन।
इन्जुरी टाइमको छैटौं मिनेटमा हिजाजीले दोस्रो गोल गरेर धनगढीलाई ३-१ को अग्रता दिलाए। उनी एनएसएल २०२५ मा एकै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बने। त्यसैगरी, सर्जियो बार्बोजाले इन्जुरी टाइमको नवौं मिनेटमा गोल थप्दै धनगढीलाई ४-१ को प्रभावशाली जित सुनिश्चित गरे।
यो जितसँगै धनगढीले पहिलो खेलबाट ३ अंक जोडेर लिगमा सुखद् सुरुवात गरेको छ। अर्कोतर्फ, बुटवल भने लगातार दुई खेलमा जितविहीन रहँदै दबाबमा परेको छ।