
काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले गत शुक्रबार तीनकुनेमा राजावादी आन्दोलनमा मारिएका दुई जनाको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङले पत्रकार सुरेश रजकका परिवार ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख दिने घोषणा गरेका हुन् ।
सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे । ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’ उनले प्रश्न गर्दै भने ।