Logo
Logo

पाँच वर्षपछि चीन छाड्दा…


1.4k
Shares

पाँच वर्ष लामो चीनको बसाईँमा अन्तिम वर्ष थियो । मेरो पढाइ सकियो । अब भ्याइनभ्याइ युनिभर्सिटी जानु परेन । सरोजको त यसपाली चीनमा ६ वर्ष नै बित्दै थियो । विद्यावारिधिको थेसिसको काम मात्र बाँकी थियो ।

हाम्रो जीवनमा नयाँ अध्यायको सुरु हुने बेला भइसकेको थियो । नेपाल र चीनमा बच्चाहरुको स्कूल शुरु हुने समय फरक हुने भएकाले छोरीको स्कूलको पढाइलाई के गर्ने भन्ने कुरा निस्कियो ।

०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तन हेर्न र बदलिएको परिस्थितिमा देशमा के गर्न सकिन्छ भनेर योजना बनाउन सरोजलाई हतारो भइरहेको थियो । त्यहीबेला ससुरा बुवाले नातिनीलाई नेपालमै स्कूल राख्न ढिलो भयो भनेर अर्को हतारो लगाइरहनु भएको थियो ।

हामीले दाँयाबाँया कतै हेरेनौं । छोरीलाई पनि लिएर सरोज घर फर्किने सोच बन्यो । छोरीलाई एक्लै घरमा छोड्न मेरो मन मानिरहेको थिएन । केही महिनाको निम्ति किन छोरीलाई घर पठाउने भन्ने पनि लागिरहेको थियो । सबै सँगै गए भइहाल्छ नि भनेर सोच्दै थिएँ । छोरीसँग कुरा गर्दा त “नेपालको घरमा जाने’’ भनी । बच्चा न हो ! के गरौँ, के गरौँ भयो मलाई । तर सबैजना नेपाल गएर फर्कन दोहोरो टिकट किन्न पैसा पनि पुग्दैनथ्यो । उता चीनको भिसा बाँकी नै थियो । त्यसैले म मात्र नफर्कने भएँ ।

त्यही बेला अर्कोतिर मेरो पढाई सकिनासाथ सुसुमु र निशीकावा लगायत जापानी मित्रहरूले मलाई एकपल्ट जापान देखाउन र जापानमा भएका सहयोगी मित्रहरू र पाठकहरूसँग भेटाउन कोसिस गरिरहेको थाहा पाएँ । शाङ्हाईबाट जापान आउन–जान हवाइ टिकट महंगो हुन्थ्यो । पानीजहाजको टिकट उनीहरूले नै पठाइदिने कुरा गरे । त्यसैले बाबुछोरी नेपाल फर्कने बेला म भने जापान जाने मानसिकता बनाएँ ।

भिसाको निम्ति कोसिस गर्दा ३ महिनाको निम्ति भिसा पनि मिल्यो । सुरुमा भिसा लिन सजिलो भएन । पछि धेरै पाठक मित्रहरू समेतको नाम जोडिएर निम्तो पठाएपछि चाहिँ शाङ्घाईमै भएको जापानी कन्सुलेटले सजिलैसँग भिसा दियो ।

मेरो युनिभर्सिटीले मलाई पढ्न दियो । असल साथीहरू पनि दियो । चिनियाँ सरकारले मलाई छात्रवृत्ति दियो, भिसा दियो । सुरुमा परिवार तीनजना तीनतिर भए पनि पछि सँगै बस्ने अवस्था पनि मिल्यो । तर अब फेरि केही समय परिवार छुट्टिएर बस्नुपर्ने अवस्था आएको थियो । छोरी सानै भएपनि असाध्यै समझदार थिई । उसले पनि नेपाल नै जाने मन गरेपछि, मुटुमाथि ढुङ्गा राखी छोरीलाई छोड्न बाध्य भएँ ।

बाबु–छोरीलाई नेपाल पठाउने र म जापान जाने योजना तय भयो । बाबु–छोरी नेपालमा हुन्जेल मेरो जापानको यात्रा पनि सकिन्छ, सरोज आफ्नो थेसिस डिफेन्ड गर्न शाङ्हाईमै आउँछन्, अनि दुईजना सँगै देश फर्किउँला भन्ने योजना बन्यो ।

अहिलेलाई चाहिँ सरोज दुई हप्ता जति नेपाल बसेर साथीहरुसँग भेटघाट गर्ने र बुवाको चाहनाअनुसार छोरीको निम्ति नयाँ स्कूल खोजेर फर्किने भन्ने निर्णय भयो । जहिले पनि अप्ठेरै अप्ठेरोको बाटो हिंड्ने गरेका हाम्रो निम्ति यो बाटो पनि अर्कै किसिमले असहज थियो । आठ वर्षकी छोरीलाई आफू नभएको बेला कहिल्यै नबसेको घरमा एक्लै छोड्नु हुने थिएन । तर अन्तर्मनले नदिए पनि परिस्थितिवश मैले स्वीकारेँ ।

सरोज र छोरी नेपाल फर्किनु अगाडि सरोजको ३६औं जन्मदिन नजिकिँदै थियो । यो जन्मदिनलाई केही मिल्ने नेपाली चिनियाँ र जापानी साथीहरूसँगै मनायौँ । भेटघाट रमाईलो भएको थियो । सानो कोठामा साथीहरूसँग यसरी मनाएको त्यो जन्मदिन शायद पहिलो थियो । शुभकामना, पुराना साथीहरू सँगको भेटघाट, न्यानो वातावरण, यो सबले जाडो महिनामा पनि न्यानो बनाएको थियो । छोरी पनि बेस्सरी रमाएकी थिई । चिनियाँ साथीहरूमध्ये रन को–फन्, छ्येन कुइ–लिन् आदि थिए । नेपाली साथीहरूमा नारायण गुरुङ र ज्ञानी भ्वछिभ्वयका परिवार थिए । मलाई जापान जान निक्कै सहयोग पु¥याएकी नुरिको पनि थिइन् । जसलाई पछि नेपालमा न्यानो स्वागत गर्ने मौका पाएँ ।

दुईपटक गरेर झण्डै १२वर्षको चीनको बसाइको अनुभव थियो सरोजको ! पहिले एम्बिबिएस् पनि चीनमै गरेका थिए । तर यो दोस्रो पल्टको चीन बसाई परिवार सहितको भएकोले भिन्दै थियो । नयाँ परिवेशमा नयाँ साथी बनेका थिए । ज्यादै छिटोछिटो परिवर्तन भइरहेको चीनलाई हामीले भित्रबाट हेर्न पाएका थियौँ । तर अब यो बसाईको अन्त्य हुने बेला हुँदै थियो ।
जीवनमा प्रायः यस्तै हुन्छ क्यारे ! एक्कासी नयाँ असहज परिस्थितिमा पस्दा छट्पटी हुन्छ । कतिबेला यो परिस्थितिको अन्त्य होला भन्ने लाग्छ । अनि बानी पर्दै गएपछि असहजता कम हुँदै जान्छ । जब जीवन सहज होला जस्तो हुन्छ, अचानक त्यो स्थितिबाट निस्कनु पर्ने हुन्छ । अर्को अनिश्चिततामा पसिन्छ ।

बल्लबल्ल चीनमा बाँच्न केही सजिलो हुँदै गएको बेला फेरि समयले नै हाम्रो निम्ति नयाँ दिशा तय गरिदियो । मैले आफ्नो युनिभर्सिटी‘इष्ट चाइना नर्मल युनिभर्सिटी’को होस्टेल छोडेँ । साथीहरू सँगको बिदाइ भावुकतापूर्ण भयो । कति साथीहरूले आ–आफ्नो देशमा घुम्न आउनु भनेर निम्तो दिए । न्यानो हार्दिकता देखाए । आफ्ना प्रिय गुरू गुरूमाहरू सबै प्राध्यापकहरू सँग पनि बिदावादी भएँ ।

मेरो युनिभर्सिटी चीनमै नाम चलेको मध्येको एक थियो । युनिभर्सिटी क्याम्पस आफै नै एउटा सानो शहर जस्तो थियो । छोड्ने बेला माओ च–तुङको ठूलो शालिक र क्याम्पसभित्रका पोखरी, रुख, फूल आदिसँग फोटो खिचेँ । छोड्ने बेला माया लाग्दो रहेछ । ती मध्ये धेरैसँग गहिरो नाता गाँसिइसकेको रहेछ ।

सरोज नेपाल जाने भनेपछि उनको पुरानो साथी छ्येन कुइ–लिन हामीलाई पैसाको आवश्यकता पो छ कि भनेर केही पैसासमेत बोकेर आएका रहेछन् । धन्यवाद व्यक्त ग¥यौँ । त्यतिबेला उनीसँग पैसा लिनु पर्ने स्थिति भने थिएन । जापान र अरु देशमा छापिएका मेरा लेखबाट प्राप्त पारिश्रमिकलाई बचाएर राखेकी थिएँ । रन् को फनले छोरीको निम्ति नयाँ लुगाको सेट ल्याइदिइन् । कति असल साथीहरू ! यी साथीहरूको मैत्रीऋण कसरी तिर्ने होला भन्ने लागिरह्यो, अझै लागिरहन्छ ।

हतार हतारमै भए पनि नेपाल जानुभन्दा अगाडि नै सरोजले थेसिस सिध्याएर प्रोफेसरलाई बुझाए । प्रोफेसर पनि खुसी भए । नेपाल पुगेर फर्केपछि डिफेन्ड गर्ने कुरामा उनको सहमति भयो । त्यसले पनि मन आनन्दित भयो । समय पनि सधैँ प्रतिकुल त कहाँ भइरहन्छ र !

प्रतिक्रिया दिनुहोस्