काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बाले) परम्परागत राजनीतिमाथि विद्रोह गरेर आएरका व्यक्ति हुन् । अहिले उनै बालेनको महानगरमा विद्रोह भएको छ ।
मेयर बालेन साहको निर्देशन अवज्ञा गर्दै उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराएका छन् । बिहीबार कार्यकक्षको ढोका फोरेरै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।

काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै गुरागाईँलाई बालेनले पुस ५ गते प्रमुख प्रशासकीय अधिकृतबाट हटाएका थिए । गुरागाईँलाई हटाएर नयाँ कार्यकारी अधिकृत पठाउन बालेन गरेको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेको थियो ।
त्यसपछि बालेन र संघीय सरकारबीच विवाद चर्केको थियो । विवाद चर्किँदै गएपछि लामो समय कर्मचारीले तलब पाएका थिएनन् । महानगरमा आर्थिक कारोबार ठप्प भएपछि बिहीबार केही जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको स्वागतको तयारी गरेका थिए ।
उपमेयर सुनिता डंगोलसहितका वडाध्यक्षहरू कार्यकारीको स्वागतका लागि महानगर पुगेका थिए । कार्यकारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिन बालेनले बिहानैदेखि नगर प्रहरीलाई कार्यालयमा खटाएका थिए । तर, कर्मचारी र जनप्रतिनिधिले घेरेर गुरागाईँलाई कार्यालय प्रवेश गराएका थिए ।
त्यसक्रममा नगर प्रहरी र कर्मचारीबीच विवाद बढेको थियो । नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी परिचालन गर्न खोजेपछि कर्मचारी प्रतिकारमा उत्रिएका थिए । ढोका फोेरेर कार्यकारी अधिकृत कार्यकक्षमा प्रवेश गरेपछि उपमेयर र जनप्रतिनिधिसहितको बैठक बसेको थियो ।
बिहीबारको घटनापछि काठमाडौं महानगरमा बालेनविरुद्ध एकप्रकारको विद्रोह भएको छ । जनप्रतिनिधि, कर्मचारीदेखि सरसफाइ कर्मचारीहरू समेत गुरागाईँको पक्षमा उभिएका छन् । बिहीबार महानगरको कार्यालयमा तनाव उत्पन्न हुँदा मेयर बालेन भने कार्यकक्षमा थिएनन् ।
२०७९ वैशाखमा निर्वाचित भएदेखि नै स्वतन्त्र मेयर बालेन र राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबिच टसल देखिएको थियो । प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णयले यो टसल उत्कर्षमा पुगेको थियो ।
उनले सामाजिक सञ्जालमार्फत सरकारको नेतृत्व र संघीय सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् ।
के हो विवाद ?
मेयर बालेन शाह मेयरका रूपमा निर्वाचित भएको ३३ महिना बितिसक्यो । यो बिचमा काठमाडौं महानगरमा चार जना प्रमुख प्रशासकीय अधिकृत आइसके । लोकनाथ पौड्याल, बसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईँ ।
बालेन मेयरको रूपमा आउनुअघि महानगरको प्रमुख प्रशासकीय अधिकृत थिए, लोकनाथ पौड्याल । उनले बालेनसँग तीन महिनामात्र काम गरे । त्यसपछि उनको स्थानमा बसन्त अधिकारी आए । अधिकारीको कार्यकाल भने कर्मचारी नियुक्तिको विषयले विवादित बन्यो । उनले मेयर बालेनसँग १६ महिना काम गरे ।
त्यसपछि महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा प्रदीप परियार आए । उनको कार्यकाल भने विवादरहित रह्यो । उनको पालामा केही सुधारका संकेत पनि देखिए । पछिल्लो पाँच वर्षको तुलनामा महानगरले बजेट खर्च ५१ प्रतिशत पुग्यो । यो उपलब्धि पनि परियारकै पालामा भएको थयो ।
तर महानगरमा आएको ८ महिनामै उनलाई संघीय सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिदियो । अनि यो ठाउँमा आइपुगे सरोज गुरागाईँ । यिनै गुरागाईँ अहिले विवादित बनेका छन् ।
कारण हो, काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृतिको विषय । गुरागाईंमाथि काठमाडौं टावर भवन निर्माणको नक्सा प्रक्रिया नै पूरा नगरी स्वीकृत गरिदिएको आरोप छ ।
२०८१ पुस ५ गते महानगरपालिकाले पत्रकार सम्मेलन गरी काठमाडौं टावर भवन निर्माणको नक्सा स्वीकृत गरिएको आरोपमा गुरागाईंमाथि छानबिन गर्ने जानकारी गरायो । छानबिनका लागि समिति पनि बन्यो तर प्रतिवेदन भने बनेन ।
समितिले प्रतिवेदन तयार गर्न नसकेपछि मेयर बालेनले गत फागुन १९ गते महानगरकै सहरी व्यवस्थापन, कानुन तथा मानव अधिकार र सार्वजनिक निर्माण विभागबाट राय लिए । अनि यही राय संघीय मन्त्रालयमा बुझाए ।
यही बीचमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले फागुन २१ गते संघीय मन्त्रालयमा निवेदन दिए । जसमा महानगरमा काम गर्ने वातावरण मिलाइदिनु भन्ने व्यहोरा समेटिएको थियो । निवेदन दिएको भोलिपल्टै अर्थात् फागुन २२ गते मन्त्रालयले काम गर्ने वातावरण मिलाउनु भनी महानगरलाई पत्र काट्यो । तर मेयर बालेन गुरागाईँलाई महानगरमा हाजिर गराउन तयार भएनन् ।
यो विवाद सुरु भएदेखि गुरागाईँ घर बिदामा छन् । उनको कार्यभार निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा गोविन्दप्रसाद शर्माले सम्हालिरहेका थिए । पुस २७ गतेपछि शर्मा यो जिम्मेवारीमा रहेनन् । उनको ठाउँमा आइपुगे नुरनिधि न्यौपाने ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार छैन । त्यसैले १० करोड रुपैयाँभन्दा माथिको आयोजना र सबै जनप्रतिनिधि तथा कर्मचारीको तलब गरेर करिब ७५ करोड रुपैयाँ भुक्तानी रोकिएको छ ।
एकातिर माघदेखि महानगरको आर्थिक कारोबार ठप्प छ । अर्कोतिर मेयर बालेन प्रमुख प्रशासकीय अधिकृतको विषयमा लचिलो हुने खोजिरहेका छैनन् । त्यसो भए यो विवादको समाधान कसरी हुन्छ ? अहिले नै यसै भन्न सकिने अवस्था छैन ।