काठमाडौं । अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई पराजित गरेको छ । नेपाल यु-१९ ले बिहीबार भएको खेलमा १ सय ३० रनको हार बेहोरेको हो ।

अफगानिस्तानले ३ अभ्यास खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७० रन बनाउँदै अल आउट भयो ।
नेपालका लागि ओपनर निरज कुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । सन्तोष यादव ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए ।
कप्तान नरेन भट्ट १३, सिब्रिन श्रेष्ठ ११, अमर मिश्र १, रोशन विश्वकर्मा ४ तथा ओपनर साहिल पटेल २ रनमा आउट भए । असोक धामी २४ र अभिषेक तिवारी १७ रनमा जोडे ।
अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान २ तथा अब्दुल अजिज, नोरिस्तानी उमजाईं र नजिफुल्लाह अमिरिले समान १ विकेट लिए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाएको थियो ।
अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन बनाएका थिए । फैसल र ओपनर खालिद अहमदजईले दोस्रो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरेका थिए ।
ओपनर खालिद १ सय ७ बलमा ६ चौकाको सहयोगमा ७६ रन बनाएका थिए । खालिद र फैसल दुवै सन्तोष यादवको शिकार बनेका थिए । बर्कत इब्राहिमजीले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडेका थिए ।
अजिज मिअया खिल २० बलमा २१, ओपनर उजेरउल्लाह नियाजी २२ बलमा २४ रनमा आउट हुँदा नोरिस्तानि उमरजाईं र जियाउल्लाह शाहिदीले रनको खाता नै खोल्न सकेनन् ।
नजिफुल्लाह अमिरि १० रनमा आउट हुँदा अब्दुल अजिज १५ रनमा नट आउट रहे । अफगानिस्तानले २ सय ३ रन जोड्दा १ विकेट मात्र गुमाएर विशाल योगफल बनाउँने संकेत गरेको थियो । तर, खेलमा नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेपछि ९७ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो ।
नेपाका लागि सन्तोष यादवले ३ विकेट लिए । अभिषेक तिवारीले २ विकेट लिए । दयानन्द मण्डल तथा विपिन शर्माले समान १ विकेट लिए । नेपाल र अफगानिस्तान यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । छनोट अघि दुवै टोलीले ३ खेलको ५० ओभरको अभ्यास सिरिज खेलिरहेका हुन् ।
दोस्रो अभ्यास खेल आइतबार हुनेछ । एसिया छनोट अर्को साता नेपालमा सुरु हुँदै छ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमा टोलीको सहभागिता रहनेछ ।