Logo
Logo

कैलालीमा २८६ छाडा कुकुरको बन्ध्याकरण गरियो


315
Shares

काठमाडौं ।  कैलालीको धनगढी उपमहानगरपालिकाले २८६ सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरेको छ । सडक दुर्घटना र रेबिज रोगको जोखिम कम गर्न उपमहानगरले यो अभियान थालेको हो । चैत १७ गतेदेखि चार दिनसम्म सञ्चालित बन्ध्याकरण शिविरमा १५८ पोथी र १२८ भाले कुकुरको बन्ध्याकरण गरिएको छ।

उपमहानगरको पशु सेवा शाखा प्रमुख डा.समीरकुमार ठाकुरका अनुसार, सामुदायिक कुकुरको बिगबिगीले दुर्घटना, रेबिज सङ्क्रमण र फोहरको समस्या निम्त्याएकाले यो कदम चालिएको हो। बन्ध्याकरण कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा प्रभावकारी उपायको रूपमा रहेको उनको भनाई रहेको छ। शिविरमा बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप पनि लगाइएको छ।

काठमाडौंको मण्डला भेटेनरी अस्पतालको प्राविधिक सहयोग र उपमहानगरको आर्थिक सहायतामा सञ्चालित यो शिविर धनगढीको टोल–टोलमा पुगेको थियो। विज्ञ टोलीले कुकुरलाई नियन्त्रणमा लिएर शिविरमा बन्ध्याकरण र उपचार गरेपछि उनीहरूलाई पुनः सोही स्थानमा छाडिएको छ ।

धनगढीमा बिहानको समयमा कुकुरले टोक्ने र लखेट्ने घटना बढेपछि उपमहानगरले विगत केही वर्षदेखि यस्ता अभियान चलाउँदै आएको छ। यो प्रयासले कुकुरको सङ्ख्या घटाउन र स्थानीयवासीलाई सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्