काठमाडौं । यही चैत १५ गते काठमाडौंको तीनकुने–कोटेश्वर क्षेत्रमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोडलगायतका हिंसात्मक गतिविधिको छानबिन गर्न न्यायिक समिति गठन गर्न चौतर्फी माग भइरहेको छ । जति दिन बित्दै गयो, त्यति नै प्रहरीको भूमिकाबारे प्रश्नहरू थपिन थालेका छन् ।
घटनामा सुरक्षा संयन्त्रको कमजोरी रहेको भन्दै आलोचना भइरहेका बेला सत्तागठबन्धन दलका नेताहरूले समेत छानबिनका लागि न्यायीक समितिको माग गरेका छन् । तर, सरकार भने ती मागहरूको वेवास्ता गर्दै आफ्नो कमीकमजोर ढाकछोप गर्न लागिपरेको छ ।

प्रहरीमाथि अहिले राजावादी समूहले स्टेजमा कार्यक्रम गरिरहेका बेला अश्रुग्याँस हानेर परिस्थिति बिथोल्न खोजेको आरोप समेत लागिरहेको छ । कतिपयले राष्ट्रगान बजिरहेका बेला प्रहरीले अश्रुग्याँस हानेपछि परिस्थिति थप अराजक बनेको बताइरहेका छन् ।
भीडमा आपराधिक मानसिकताका व्यक्तिहरू समेत भएपनि प्रहरीले अश्रुग्याँस हानेपछि थप अराजकता बढेको उनीहरूको विश्लेषण छ । तर, केन्द्रीय प्रहरी प्रवक्ता दिनेशराज आचार्य भने त्यो डिप फेक भिडियो भएको दाबी गर्छन् ।
उनले भनेका छन्, ‘उहाँहरूले कार्यक्रम सुरु गर्नु अगाडि नै हो । त्यहाँनेर राष्ट्र गान कहीँ बजेको छैन । त्यो डिप फेक भिडियो हो ।’
यद्यपि, त्यहाँ राष्ट्रगान बजेका बेला अश्रुग्याँस हानिएको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक छन् । सचित राईडस नामको युट्युब च्यानलमा तीनकुनेमा भएको प्रर्दशनको करिब १ घण्टा १३ मिनेटको भिडियो छ । भिडियोको ३६ मिनेट ०१ सेकण्डमा पृष्ठभूमिमा राष्ट्रगान बज्न सुरु हुन्छ । भिडियोमा ‘त्यहाँ हान्यो (अश्रुग्याँस) हान्यो’ भनेको सुनिन्छ ।
भिडियोको ३६ मिनेट २६ सेकेण्डमै राष्ट्रगान बज्न रोकिन्छ । त्यसपछि ३६ मिनेट ३१ सेकेण्डमा स्टेजमा अश्रुग्याँसको धुवाँ देखिन्छ । ८६ वर्षीय नवराज सुवेदी त्यहाँ पुगे राष्ट्रगान बजाएर कार्यक्रमको औपचारिक सुरुवात हुने तयारी हुँदै थियो । त्यही बेला एक्कासि तीनकुने चौरमा अश्रुग्याँस खसेको थियो ।
यो प्रदर्शनमा भएका हिंसात्मक घटनाहरूमा के–के भएको थियो भन्नेबारे आरोप, प्रत्यारोप र दोषारोपण जारी छ । प्रहरीले नागरिकका घरमाथि लुकेर अश्रुग्याँस हानेको भन्ने आरोप पनि छ । तर, प्रहरीले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
यो प्रकरणसँगै तीनकुनेबाट कोटेश्वर जाने मुल सडकमा भीड पछि हट्दै गरेको बेला युवकलाई गोली लागेको भिडियो सार्वजनिक भएपछि प्रहरी दबाबमा परेको छ ।
आवश्यकता नै नभएको ठाउँमा अगाडिबाट गोली हानेको भन्दै छानबिनको माग उठिरहेको छ । तर, प्रहरी प्रवक्ता आचार्य भने कसैलाई पनि अगाडिबाट गोली नलागेको जिकिर गर्छन् । बाहिर सार्वजनिक भए जस्तो ती व्यक्ति मृतक सविन महर्जन भने नभएको उनको दाबी छ ।
प्रहरीले नै उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार मात्र प्रहरीले ५८ राउन्ड गोली चलाएको थियो भने ७४६ राउन्ड अश्रुग्याँस हानेको थियो । यता सशस्त्र पहरीले कति गोली चलायो भन्ने विवरण आएको छैन । शुक्रबार यति धेरै फायरिङ गर्नुपर्ने अवस्था किन आयो ? प्रदर्शनकारी पछि हटिरहेका बेला पनि किन गोली चल्यो ? गल्लीमा रहेका आमनागरिक पनि कसरी घाइते भए ? यस्ता प्रश्न आमनागरिकका मनमा छन् ।
प्रहरी अधिकृतहरू नै पनि शुक्रबार सुरक्षा दृष्टिकोणबाट गम्भीर चुक भएको बताउँछन् । पत्रकार र आम मानिसले खिचेका विभिन्न भिडिओ फुटेज, प्रत्यक्षदर्शीले दिएका फरक फरक र कतिपय सन्दर्भमा बाझिने बयानले यो घटनाको प्रस्ट तस्बिर बुझ्न सहयोग गर्नुभन्दा अन्योल थपिएको छ ।
त्यसमाथि काँटछाँट गरिएका र डिपफेक भिडिओसम्म प्रयोग भएको छ भन्ने दाबीले यो घटनाको यथार्थ तस्बिर झनै दुरूहपूर्ण बन्दै गएको छ । त्यसैले तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन क्रममा भएका हिंसात्मक गतिविधिको न्यायिक समिति गठन गरी छानबिन आवश्यक देखिन्छ ।
प्रहरीले कोही पनि सर्वसाधारणलाई पछाडिबाट गोली नहानेको दाबी गरे पनि त्यसरी हिँड्दै गरेका निहत्था प्रदर्शनकारीमाथि किन गोली चलाइयो भन्ने जबाफ दिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको किटानी नै गरिसकेका छन् ।
सत्तारुढ दलदेखि प्रमुख विपक्षीदलसहितले घटनाका मुख्य दोषी शाह नै भएको सार्वजनिकरुपमा आरोप लगाइरहेका छन् । तर, सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति बनाउन सकेको छैन । राजा बन्न सडकमा भाँडभैलो सुरू गर्नमा ज्ञानेन्द्र शाहको भूमिका छ कि छैन वा उनकै इसारा र लगानीमा यो भइरहेको छ, यसको पनि यकिन हुन जरूरी छ ।