Logo
Logo

अहंकारी सत्ताको भुङ्ग्रोमा इमानदार कर्मचारी


उमेश बन्जाडे

1.6k
Shares

आजको मानव समाजमा हिंसा तरबार र बन्दुकले मात्रै गर्दैन, दुर्गन्धित विचारले पनि अकल्पनीय हिंसा र जघन्य अपराध निम्त्याउन सक्छ ।

स्वच्छ विचारले सुन्दर समाजको निर्माण गरेजस्तै दुष्ट मस्तिष्कले समाज र सिंगो राष्ट्रलाई नै दुर्घटनाग्रस्त पार्न सक्छ । देशलाई सधैँ उत्तेजित, उद्वेलित र भ्रमित तुल्याउँदै आफ्ना इच्छा पूरा गर्ने लत लागेका शासकहरुको कारण हाम्रो मुलुकले पनि पटकपटक साना–ठूला दुर्घटनाहरू बेहोर्दै आएको छ ।

विषाक्त सोच भएका केही नेताहरू वर्षौँदेखि राजनीतिको बर्को ओढेर राज्यको उपल्लो संरचनामा एकछत्र रजाइँ गरिराखेका छन् । तर यिनीहरूलाई जनताले पत्याउन सक्ने झिनो ठाउँसम्म बाँकी छैन । शासकहरूका कुकर्म र अपराधबाट आमनागरिक निराश र आक्रोशित छन् । यिनीहरू जता जान्छन् त्यतै विरोधका लप्काहरू जाग्न थालेका छन् ।

फलस्वरूप अत्तालिएका सम्भ्रान्त वर्गका लागि देशमा केही गरिरहेका वा गर्न चाहने पुस्ता टाउको दुखाई बनिरहेका छन् । उदाहरणका लागि भर्खरै मात्र कुलमान घिसिङमाथि साँधिएको प्रतिशोध हेरे पुग्छ ।

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ प्रमुख भएर आउँदा देशमा दैनिक अठार घण्टे लोडसेडिङको महामारी फैलिएको थियो । त्यो महामारी हामीले उतिबेला बर्सेनि भोग्नुपथ्र्यो । त्यसअघि पनि वर्षौँ सत्तामा बसेकाहरू के गर्न सत्तामा जान्थे, र के गरेर फर्कन्थे ? कसैलाई अत्तोपत्तो थिएन ।

आजभोलि ‘लोडसेडिङ कुलमानले होइन, हामीले हटाएका हौँ’ भन्नेहरूकै चाहना र इच्छामा प्राधिकरणभित्र कयौँ निर्देशक र व्यवस्थापकहरू आए, यद्यपि, उनीहरूले त्यहाँ बसेर कसको सुसार गरे भन्ने कुरो अचेल छर्लङ्ग हुँदै गएको छ ।

आज सत्तामा भएकाहरू उतिबेला पनि सरकारमै थिए, तर त्यसअघि लोडसेडिङ अन्त्यको त कुरै छाडौं, यिनीहरूले केही घण्टा घटाउने कल्पनासम्म गर्दैन थिए । तत्कालीन प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले कुशल र सक्षम व्यवस्थापकको रूपमा कुलमान घिसिङलाई प्राधिकरणको जिम्मेवारी दियो । घिसिङले प्राधिकरण भित्रिएकै दिनदेखि ‘लोडसेडिङ अन्त्य गर्नु नै आफ्नो प्रमुख दायित्व’ रहेको बताउँदै गर्दा त्यहाँ फराकिलो खाडल खनेर फर्किएकाहरू पृष्ठभूमिमा बसेर हाँसिरहेका थिए ।

कुलमानको त्यो हिम्मत र साहसलाई मजाक ठानिरहेका थिए । अझ सार्वजनिक रूपमै लोडसेडिङ अन्त्य भए कुनै पनि सार्वजनिक पदधारण नगर्ने ठोकुवा गर्दै हिँडेका थिए । तर उनीहरूले चाहेको जस्तो हुन सकेन । कुलमान घिसिङकै पालामा लोडसेडिङ अन्त्य भयो । कार्यकौशलता र सक्षमताका आधारमा कुलमान घिसिङ अब्बल ठहरिए भने मुकेश काफ्लेहरू दुर्गतिका पक्षपात देखिए ।

अहिले प्राधिकरण भित्रिएका शाक्य पनि क्षमताभन्दा बढी प्रधानमन्त्रीका निकट र बिचौलियाको सिफारिसको भरमा नियुक्त भएका हुन् भन्दा कुनै अप्रिय हुँदैन ।

नैतिक रूपमा पतित भइसकेका सत्तासीनहरू मूलतः कुलमानसँग दुई रूपमा आतंकित छन् । एउटा असाधारण कार्यक्षमता र अर्को सर्वत्र लोकप्रियता । आफूहरू दशकौँदेखि सत्तामा बसेर पनि जनताको गाली खाइरहनुपर्ने, तर आफू मुन्तिरको मामुली कर्मचारीले चौतर्फी वाहवाही बटुल्नु यिनीहरूलाई भारी परेकै हो । नत्र भने, कहिले उज्यालो नेपालसँग, कहिले बालेनको डोजरसँग त कहिले हर्कको रित्तो गाग्रीसँग तर्सिनुपर्ने कारण के थियो ?

आफ्नो अधिपत्यमाथि चट्याङ खस्न सक्ने भय र त्रासकै कारणले त एकपछि अर्को देशघाती निर्णय गर्न बाध्य सत्ताको दुरुपयोग गर्दै छन् । होइन भने, के सरासर आफ्नो जिम्मेवारी निभाएर चुर्लुम्म ऋणमा डुबेको संस्थालाई अर्बौँ नाफामा लैजानु कुलमानको दोष थियो ? ९५ प्रतिशतभन्दा बढी जनताको बस्ती र झुपडीसम्म विद्युत् पु¥याउनु उनको अपराध थियो ?

अर्बौँ बक्यौता रकम नतिर्ने उद्योगहरूमा लाइन काट्नु गल्ती थियो ? सनकको भरमा राज्य चलाउन खोज्नेहरूले एक दिन यावत प्रश्नको जवाफ अवश्य दिनुपर्छ । वर्षौंदेखि सिंहासनमा बसेर राज्यका हरेक निकायलाई भ्रष्टाचार र बेथितिको दलदलमा हुल्नेहरूका दिनगन्ती सुरु भइसकेको छनक देखिनै थालेको छ । अझै पनि दम्भ र घमन्डकै लौरो टेक्न खोज्नेहरूले अब पनि ‘जनतामाथि धेरै नै अत्याचार गरिएछ’ भन्ने भेउ नपाउने हो भने आउने परिस्थितिलाई थेग्न गाह्रो पर्न सक्छ ।

जलस्रोतको दोस्रो धनी देशमा सामान्य मोबाइल चार्ज गर्न, मोटरबाट पानी तान्न, बेलुकीमा बत्ती बाल्न र गर्मीमा पङ्खा चलाउन मात्रै पनि तालिका बनाउनुपथ्र्यो । कुटानी–पिसानीका लागि कम्तीमा हप्ता दिनसम्म लाइन बस्नुपथ्र्यो । अन्य बिरामी, बालबालिका र विद्यार्थीको दैनिकीमा पनि कहिल्यै भुल्न नसकिने गरी प्रताडित गरेको थियो लोडसेडिङले । त्यसको मार गगनचुम्बी महलमा राज्यकोषको सुविधा ओछ्याएर निदाउनेहरूलाई के थाहा ?

यो देशको पिँधमा बसेर दैनिक दुःखजिलो गर्नेहरूलाई लोडसेडिङको मार र हैरानी गहिरोसँग थाहा छ । त्यसैले कुलमानलाई सत्तासीनहरूले अहिले पदबाट लखेटे पनि आम नागरिकको मस्तिष्कबाट कहिल्यै खेद्न सक्दैनन् । भ्रष्ट र बिचौलियाका सुसारेहरू कुलमानविरुद्ध जतिसुकै उफ्रिए पनि अहिलेका चेतनशील नागरिकले बरु उल्टै यिनीहरूलाई तिरस्कार गर्नेछन् ।

यो सरकारप्रति चौतर्फी घृणा र आक्रोश त देखिएको छ नै, एकजना सक्षम कर्मचारी, जसले कहालीलाग्दो अन्धकारबाट आमनागरिकलाई मुक्ति दिलायो उसैलाई कारबाही गरेर सरासर बलेको आगोमा तेल थप्ने काम गरेको छ । समग्रमा भन्दा एउटा असल, राष्ट्रसेवक कर्मचारी अहंकारी सत्ताको भुग्रोमा हेलिनुपरेको छ ।

लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्