काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चैत १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाले गणतन्त्र र लोकतन्त्र सुरक्षित नरहेको बताएका छन् । उनले अहिलेको अवस्थामा गणतन्त्र र लोकतन्त्रवादीहरू चनाखो बन्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले तीनकुने घटना लोकतन्त्र र गणतन्त्रलाई सिद्ध्याउने नियतका साथ भएको जिकिर गरे । ‘तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै सतर्क हुनुपर्छ,’ उनले भने ।
उनले कुनै विषयमा असहमति रहे जनमत लिएर बदल्न सकिने संवैधानिक व्यवस्था रहेको बताए ।उनले भने, ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिद्ध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ । जनतामा प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो ।’
केसीले संविधानमा भएका असहमतिहरूलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजक गतिविधि भइरहेको बताए ।
‘गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन’ उनले भने । उनले विभिन्न आन्दोलनको बाहानमा नेपालको अहिलेको व्यवस्था उल्ट्याउने प्रयास भइरहेको बताए । पछिल्लो समय नेपालमा राजावादीहरूको आन्दोलनको प्रभाव बढिरहेको समयमा अन्य प्रमुख राजनीतिक दलहरूले पनि राजाका गतिविधि माथि नियन्त्रण आवश्यक रहेको बताउँदै आएका छन् ।