काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ । शुक्रवार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरू अधिकारी सहभागी भएनन् ।

सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् ।
दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन । भेटवार्ता सकेर प्रधानमन्त्री ओली आफू बसेको होटलमा फर्केका छन् ।