काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठक आन्दोलनरत शिक्षकहरूले बहिष्कार गरेका छन् ।
आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्न सिंहले आज दिउँसो तीन बजे छलफलको लागि सिंहदरबारमा बोलाएका थिए । तर, महासङ्घले वार्तालाई खारेज गरेको जनाएको छ ।

‘वार्तामा बोलाएको हो । तर वार्तालाई हामीले खेर गर्यौं। वार्ता होइन शिक्षा ऐन खोजेको हो,’ आन्दोलन परिचालन समितिको संयोजक एंव महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘हामी आन्दोलनको मैदानमा छौँ। सिंहदरबार जाँदैनौँ ।’
बिहीबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासङ्घलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।
शिक्षक महासंघको टोली नगएपनि सरकारी टोली भने छलफलमा सहभागी भएका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन्।
त्यस्तै उनीहरूले स्थायी, राहत, साबिक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारी लगायतका समस्यालाई विद्यालय शिक्षा विधेयकमा समेटिनुपर्ने माग गरेका छन् ।
२० चैतदेखि उनीहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । गत २०८० असोजमा भएको सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरिरहेका छन् ।
पटकपटक सम्झौता गरेर सरकारले धोका दिएको भन्दै महासङ्घले अन्तिम लडाइँ भएकाले सहमति मात्र नगर्ने अडान लिएका छन् ।