Logo
Logo

आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि वार्तामा बोलायो


189
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरू सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि फेरी बोलाएको छ । 

शुक्रवार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासङ्घका प्रतिनिधिहरूले बहिष्कार गरेका थिए । 

कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिँदा पनि शिक्षकका प्रतिनिधिहरू नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुङ्ग्याएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआएको बताइन् ।

‘सरकार लचिलो छ । सरकारले शिक्षकका मागहरूलाई कतै पनि दृढताका साथ सम्बोधन गरेर अघि बढ्नेछ । आज आमन्त्रण गरिएको त्यसमा सिङ्गो सरकारले आह्वान गरेको छ,’ उनले भनिन्, ‘औपचारिक खबर आएन । हामीले डेढ घण्टा पर्खियौँ । उहाँहरू नआउनु भएपछि फेरि संवादका लागि आमन्त्रण गर्ने गरी आजको बैठक स्थगित गरेका छौँ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । बिहीबार साँझ पनि सरकारसँग शिक्षकहरूको वार्ता भएको थियो । शुक्रवार ३ बजे बस्ने गरी स्थगित भएको बिहीबारको बैठक आज भने बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस्