काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच रोमाञ्चक भिडन्त हुँदै छ। खेल अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

मुम्बईले आफ्नो पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई हराउँदै लखनउको घरेलु मैदानमा आत्मविश्वाससहित पाइला टेकेको हो। उता लखनउ भने पञ्जाब किंग्ससँगको हारपछि दबाबमा छ। तीन खेलमा दुई अंक बटुलेको मुम्बई तालिकाको छैठौं स्थानमा छ भने लखनउ सातौँ स्थानमा रहेको छ।
दुबैबिच भएको ६ खेलमध्ये लखनउले ५ जितेको छ भने मुम्बईले एउटा मात्र—त्यो पनि सन् २०२३ को एलिमिनेटर खेलमा जित हासिल गरेको हो।
लखनउका लागि यो सिजनमा निकोलस पूरन र मिचेल मार्शले उल्लेखनीय प्रदर्शन गरेका छन्। तर, ऋषभ पन्तको प्रदर्शन निराशाजनक रहेको छ । उनी ३ इनिङमा जम्मा १७ रनमै सीमित छन्। रिटेन खेलाडी आयुष बडोनीले पनि हालसम्म जम्मा ५१ रन बनाएका छन्। बलिङतर्फ लखनउलाई चोटपटकको मार परेको छ। आवेश खान, आकाश दीप, मयंक यादव र मोहसिन खान सबै घाइते छन्। यद्यपि, आकाश दीप सिजनको पहिलो खेलका लागि फिट भएका छन्।
मुम्बईले सुरुआतमा लगातार हार बेहोरे पनि कोलकाताविरुद्धको फराकिलो जितले टोलीको मनोबल बढाएको छ। जसप्रित बुम्राहको अनुपस्थितिमा पनि मुम्बईले बलिङ विभागमा उत्कृष्टता देखाएको छ। सूर्यकुमार यादव लयमा फर्किएका छन् भने रायन रिकल्टनले केकेआरविरुद्ध अर्धशतक प्रहार गरेका थिए। रोहित शर्माको प्रदर्शन भने अझै कमजोर देखिएको छ । उनले ३ इनिङमा जम्मा २१ रनमात्र जोडेका छन्।