काठमाडौं । अराजक भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँलाई राजावादीहरूले कमान्डर बनाउँदा उद्दण्डता प्रदर्शन भएको छ । विगतदेखि नै हुलदङ्गामा विश्वास गर्ने प्रसाईँले यस साता राजसंस्था फर्काउने नाममा दुई जनाको ज्यान जाने गरी उद्दण्डता प्रदर्शन गरे ।
राजावादीहरूको आन्दोलन उग्र हुने सूचना दिएका सुरक्षाकर्मीलाई पन्छाउँदै जिल्ला प्रशासन कार्यालयका प्रमुख ऋषि तिवारीले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएपछि समयमै सावधानी नअपनाएका कारण प्रसाईँले उद्दण्डता प्रदर्शन गर्न पाए ।

भौतिक संरचना निर्माण गर्दै गरेको, पेट्रोल पम्पनजिकै भएको, विमानस्थल नजिक भएको, राजनीतिक दलको पार्टी कार्यालय र मिडिया हाउसहरू नजिकै भएकाले त्यो स्थान संवेदनशील रहेको रिपोर्ट दिँदादिँदै प्रमुख जिल्ला अधिकारी तिवारीले अटेर गरी राजावादी समूहका नाइके दुर्गा प्रसाईँलाई प्रदर्शनका लागि अनुमति दिएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखियो । सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गयो । पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनले ज्यान गुमाए ।
अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भए । अर्बौंको निजी सम्पत्ति नोक्सान भयो । राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईँ आफैँ सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिए । सुरक्षाकर्मीलाई मिच्नेगरी उनी उत्रेपछि उत्तेजित बनेको भीड ढुुंगामुढा गर्नतिर लाग्यो ।
भीड अनियन्त्रित बनेपछि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी भागे भने प्रसाईँ पनि गाडी लिएर हिँडेका थिए । आन्दोलनका नाममा भीडलाई उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आगजनी गरे । मनोहरा कोरिडोरमा दर्जनौँ गाडी जलाए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई जिउँदै जलाउने प्रयास गरेका थिए । उनको गाडी ध्वस्त भयो । उनले भने बालबाल ज्यान जोगाए ।
आक्रामक भीडले ट्राफिक बिट पनि भत्कायो । पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड ग¥यो । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरे । उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोडसमेत गरे ।
उनीहरू हातहातमा बियरको सिसी, ह्वीस्कीका बोतल र लुटिएका अन्य सामग्री बोकेर हिँडे । जसमध्ये प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा १० घण्टा कफ्र्य आदेश नै जारी गर्नुपरेको थियो ।
आन्दोलनका सदस्यसचिव एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आन्दोलन सुरु हुनुअगावै तीनकुनेबाट सुरक्षित ठाउँमा पुगेर सामाजिक सञ्जालमा व्यस्त भएका थिए । प्रदर्शनमा अपेक्षाकृत जनसहभागिता नभएपछि प्रसाईँ निकै आक्रामक देखिएका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
उता प्रसाईँले राप्रपा र राप्रपा नेपालले साथ दिने भने पनि धोका दिएको भन्दै राप्रपाका नेताहरूलाई गाली गरेका थिए । प्रसाईँसहितको भीड प्रहरीको घेरा तोडेर शान्तिनगरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।
प्रदर्शनमा आएकाहरूले पनि प्रहरीलाई ढुंगा हानेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो । भीड नियन्त्रणमा लिन प्रहरीले सुरुमा लाठीचार्ज गरेको थियो । राजावादीहरूले तीनकुनेका स्थानीयका घरमा तोडफोड गरेका थिए । अश्रुग्यास प्रहार गर्न प्रहरीले ती घर प्रयोग गरेको भन्दै राजावादी समूहले तोडफोड गरेका थिए ।
प्रहरीसँगको झडपपछि स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो निभाउन गएको दमकलमाथि उनीहरूले ढुंगा प्रहारसमेत गरेका थिए । ढुंगामुढापछि आगो निभाउन नसकी दमकल फर्किएको थियो । दमकल नपुगेकै कारण पत्रकार रजकको आगोमा जलेर ज्यान गएको छ ।
भीड नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरेको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोलीसमेत चलाएको थियो ।
तीनकुनेमा पुगेको सशस्त्र प्रहरी (एपिएफ) को गाडीमा समेत राजावादीहरूले ढुंगामुढा गरेका थिए । राजावादीले एक घरमा लगाएको आगो निभाउन गएको सशस्त्र प्रहरीको टोली सवार गाडीमाथि ढुंगामुढा भएको थियो । त्योसँगै प्रदर्शनमा खटिएका एपिएफका सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको थियो ।
प्रदर्शनकारीहरूको आक्रमणमा परी एक महिला सशस्त्र प्रहरीको टाउकोसमेत फुट्यो । प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुकसमेत खोसेका थिए । राजावादीहरूको समूहले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास हान्ने बन्दुक खोसेका थिए । साथै लागुऔषध नियन्त्रण ब्युरो रहेको कार्यालयमा पुगेर आक्रमण गरेका थिए ।
राजावादीको आन्दोलन अराजक र आक्रामक भए पनि सुरक्षाकर्मीले अधिकतम संयम अपनाएका थिए । त्यसैको लाभ लिँदै प्रदर्शनकारीहरूले अराजकता मच्चाउने मौका पाए ।
प्रहरीले अराजकता निम्त्याउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, सांसद धवलशमशेर राणासहित ४१ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनका संयोजक ८७ वर्षीय नवराज सुवेदीलाई भने घरमै नजरबन्दमा राखेको छ । उनको सट्टामा जगमान गुरुङलाई राजावादीले संयोजक तोकेका छन् ।
२५ वर्ष सजाय माग दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायतलाई राज्य विरुद्धको कसुरमा २५ वर्षसम्म सजाय हुनेगरी मागदाबी गर्न सकिने देखिएको छ । व्यवस्था बदल्ने आन्दोलनमा लागेका उनीहरूलाई काठमाडौँ जिल्ला प्रहरी परिसरले राज्यविरुद्धको कसुरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धान गर्न समय मागेको थियो ।
सो विषयमा अनुसन्धान भई आरोप पत्र दायर भएमा २५ वर्षसम्मको सजाय हुन सक्नेछ । ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने अनुमति मागेको थियो । शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि राप्रपाका दुई नेतालगायत ११ जनाविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका सदस्यसचिव रवीन्द्र मिश्र र सांसदसमेत रहेका राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणा शुक्रबार राति नै पक्राउ परेका थिए ।
अर्बौैँको निजी तथा सरकारी सम्पत्तिमा क्षति तथा दुई जनाको मृत्यु हुने गरी राजावादीको तीनकुने प्रदर्शन हिंसात्मक भएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । यो दफाको उपदफा १ मा यसको व्याख्या गरिएको छ ।
‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन दिन हुँदैन’ भनिएको छ । यो कसुर गर्नेमाथि २५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भैसकेको छ । आन्दोलनको कमान्डर गरिरहेका दुर्गा प्रसाईँ भने फरार रहेका छन् । उनीसँगै अन्य केहीलाई पनि प्रहरीले खोजी गरिरहेको छ । आइतबार दिउँसो उनले आफू काठमाडौँमै रहेको भिडियो सार्वजनिक गरेका थिए ।
सुरक्षा कमजोरी
राजावादीको अराजक समूहले केही दिनअघिबाटै हिंसात्मक आन्दोलन गर्ने सूचना गृह मन्त्रालय र सुरक्षा अंगलाई नभएको होइन । उनीहरूले यथार्थ स्थिति विश्लेषण गरी आफ्नो नेतृत्वलाई दिएका पनि थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार एसपी, १५ डिएसपी, २५ इन्स्पेक्टर शुक्रबार फिल्डमा खटिएका थिए । तर उनीहरूले फिल्डको कमान्ड गर्न सकेनन् ।
दुर्गा प्रसाईँले चलाएको गाडीले सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्दा पनि प्रहरीले टायरमा समेत गोली हानेर नियन्त्रणमा लिन सकेन । राजावादीको प्रदर्शन अराजक हुने सूचना सुरक्षा संयन्त्रलाई हुँदासमेत रोक्न असफल भयो ।
शुक्रबार साँझ नै गृहमन्त्रीसहितको आकस्मिक बैठकले सुरक्षा संयन्त्र चुकेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ चारवटै सुरक्षा फौजका प्रमुखहरूसँग घटनाबारे जानकारी लिएका थिए ।
सुरक्षा प्रमुखका बिफ्रिङमा प्रधानमन्त्रीले शनिबार राजावादी प्रदर्शनमा उत्रिए जहाँ भेटिन्छन्, त्यहीँबाट पक्राउ गर्न निर्देशन दिएका थिए ।
तीनकुने क्षेत्रमा बानेश्वर वृत्तका डिएसपीले कमान्ड गर्न नसकेको, फिल्डमा खटिएका एसपीले आदेश दिन नसकेको र समग्रमा काठमाडौं परिसर नेतृत्वले फिल्डमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन नसकेको देखिएको छ । प्रहरी कर्मचारीलाई राजनीतिक दलका नेताहरूको घरघरमा धाउने बनाएकाले पनि फिल्डमा समस्या उत्पन्न भएको स्वतः देखिएको छ ।
साथै उनीहरूलाई आवश्यक पर्ने सामग्री खरिदलगायत विषयमा सरकार सधै मौन छ । भीड नियन्त्रण तालिम, हातहतियार तथा अश्रुग्यासलगायतमा सरकार सधैं मौन रहँदै आएको छ । सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई तालिम तथा तालिममा आवश्यक पर्ने सामग्री खरिद गर्नुका साटो सरुवाबढुवामा आफ्ना मान्छेलाई प्राथमिकता दिएकाले पनि यसको असर परेको देखिन्छ ।
प्रचण्ड र ओलीको काँधमा चढेपछि
गणतन्त्रका कमान्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईँ सरकार र निजी सम्पत्तिमाथि तोडफोड गर्दै व्यवस्था परिवर्तनको आन्दोलनमा लागेका छन् । कुनै बेला माओवादी नेताहरूको प्रिय पात्र मात्र होइन, एमालेको केन्द्रीय सदस्यसमेत बनेका प्रसाईं हाल पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाउन तम्सेका छन् ।
नेताहरूले शिरमा टेकाएका यी पात्र अहिले जनताको अवस्था बदल्न होइन, व्यवस्था बदल्न हिँडेका छन् । उनले यसअघि सार्वजनिक रूपमा विभिन्न व्यक्ति र संस्थामाथि अराजक टिप्पणी गर्दासमेत कुनै कानुनी कारबाही नभएपछि अहिले अराजकताको सीमा नाघेको छ ।
२०६३ सालपछि माओवादी खुला राजनीतिमा आएयता प्रसाईँले माओवादीका ठूला नेताहरूलाई गाडीमा बोक्ने, आर्थिक सहायता दिने, जिल्लामा प्रयोग गर्न सकिनेहरूलाई आर्थिक, भौतिक सहयोग गरेका थिए । प्रसाईँका लागि माओवादीलाई साथ लिनुपर्ने प्रयोजन सकिएको थिएन ।
पहिलो संविधानसभापछि माओवादी सत्तामा पुगेपछि प्रसाईँ माओवादी नेतृत्वकै वरिपरि नै घुमिरहे । सुरुमा कांग्रेस पृष्ठभूमिबाट आएका प्रसाईँ माओवादीको फेर समातेर एमालेमा प्रवेश गरे । एमालेका नेताहरूले पनि उसलाई साथ दिए । प्रदर्शनका क्रममा शुक्रबार आफैं गाडी चलाएर प्रहरीमाथि जाइलागेका प्रसाईँले भीडलाई उत्तेजित बनाएपछि उनको अराजकता थप सतहमा आयो । उनी हाल फरार छन् ।
भिडियो खिच्दाखिच्दै अस्ताए पत्रकार रजक
शुक्रबार दिउँसो राजावादी आन्दोलनको भिडियो खिच्न एभिन्युज टिभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख सुरेश रजक तिनकुने पुगेका थिए । त्यही आन्दोलनबाट उनी सधैँको लागि बिदा भएका छन् ।
विगत १० वर्षदेखि एभिन्युज टिभीमा काम गर्दै आएका रजक आफ्नो डिउटी कर्ममै जीवन बिताए । मूल घर काठमाडौं ताहाचल भए पनि चन्द्रागिरि नगरपालिकामा बस्दै आएका ३३ वर्षीय सुरेश राजावादीहरूको आन्दोलनबाट अस्ताए ।
शुक्रबार तिनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शनको भिडियो खिच्न अन्य सहकर्मी पारस श्रेष्ठ र अनिल रायमाझीसँगै त्यहाँ खटिएका थिए सुरेश । शान्तिपूर्ण भनिएको प्रदर्शन सुरु भएको केही समयमै अराजक बन्दै गएपछि सिसा फूटेको झ्यालबाट भिडियो खिचिरहेका उनी आगलागी भएको घरबाट बाहिर निस्कन सकेनन् ।
प्रदर्शनकारीले निजी र सरकारी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको बेला उनी बेपत्ता भएका थिए । उनीसँगै रिपोटिङमा गएका अर्का साथी अनिलले रजक हराएको खबर गरे पनि शुरुमा कुनै खबर बाहिर आएको थिएन । भवनको माथिल्लो तला (छत)बाट प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरिएको भने पनि त्यहाँबाट प्रहार गर्ने अवस्था देखिँदैन । भवनको माथिल्लो तलमा पुगेका केही व्यक्तिहरूले त्यहाँ प्रहरी नभएको बताउँदै आएका छन् ।
प्रदर्शनकारी पनि भवनको माथिल्लो तलामा गएकाले उनीहरूले कागजात र अन्य सामग्री लुटपाट गरिरहेका थिए । त्यसको पनि भिडियो खिचिरहेका उनलाई सोहीक्रममा तल रहेका प्रदर्शनकारीले भवनमा आगो लगाइदिएका थिए । तल आगो बल्न थालेपछि सहकर्मी पारस र अनिल दुवैले सुरेशलाई फोन गरेका थिए । तर, उनको फोन नउठेको उनका सहकर्मीहरूले बताएका छन् ।
अनिल र पारसले सुरेशलाई खोज्न सुरक्षामा खटिएका प्रहरीसँग हारगुहार गरेका थिए । प्रदर्शनकारीको दबाबमा रहेका सुरक्षाकर्मीले त्यसप्रति ध्यान दिएका थिएनन् । प्रदर्शनकारीको ढुंगामुढाका कारण दम्कल पनि त्यसै फर्किएको थियो ।
अनिल र पारसले भवनभित्र आफ्नो साथी फसेकाले निकाल्न सहयोग गर्न प्रदर्शनकारीलाई पनि अनुरोध गरेका थिए । केही समयपछि उक्त भवन आसपास भीड केही कम भयो । सशस्त्र प्रहरी बलको दमकल त्यहाँ पुग्यो । आगो केही कम भयो तर निभेको थिएन । सशस्त्र प्रहरीले त्यहाँ कुनै व्यक्ति नपरेको बताएका थिए । त्यसपछि अनिल र पारसले आसपासका अस्पतालमा सम्पर्क गरे, कार्यालयमा पनि अवस्थाको जानकारी गराए । सुरेश फेला परेनन् ।
साँझ प्रहरीले भवनमा लागेको आगो नियन्त्रणमा लियो । त्यसपछि आधा जलेको अवस्थामा सुरेशको शव त्यहीँ भेटिए । जोखिम उठाउन मनपराउने सुरेशको त्यही आत्मविश्वासले आगोको मुस्लोमा फसे वा बीभत्स हत्या गरियो भन्ने खुल्न बाँकी छ ।
यसै विषयमा थप जानकारी लिन शनिबार गृहमन्त्री रमेश लखेक एभिन्युज टिभीको कार्यालय पुगेका थिए । त्यसक्रममा एभिन्युज टिभी र सुरेशका परिवारले उनलाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तीन बुँदे माग राखेका छन् ।
शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ । महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी रजकको हत्याको विरोध गर्दै महासंघ प्रदर्शनमा उत्रिएको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो । विरोध सभामा सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै फोटो तथा भिडियो पत्रकारहरूले आफ्नो क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका थिए । प्रेस यूनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, फोटो पत्रकार संघ लगायतका संघ संस्थाहरूले पनि विरोध गरेका छन् ।