काठमाडौ । आगामी बैशाखमा हुने सिरिजंघा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजना गरिने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडी (धावक)का लागि दर्ता खुल्ला गरिएको छ ।

कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सिरिजंघा गाउँपालिकाद्धारा आयोजित सिरिजंघा पर्यटन महोत्सव–२०८२ आगामी बैशाख १३ देखि १५ सम्म नयाँ झोरेनीमा आयोजना हुँदैछ ।
महोत्सवको मुख्य आकर्षण मानिएको कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरुले २०८२ बैशाख १३ गते दिउँसो १ बजेभित्र आफ्नो निवेदन सम्पर्क व्यक्तिहरु (कृष्ण गुरुङ, मनोज उप्रेती, चन्द्र माबो र निक्की नेम्वाङ) वा पालिकाको इमेलमा पठाइसक्नुपर्ने बताइएको छ ।
२०८२ साल बैशाख १५ गते हुने सो म्याराथनका लागि समुन्द्र सतहबाट ३३ सय मिटरको उचाइमा अवस्थित नयाँ झोरनीबाट ४३०० मिटरको उचाइमा रहेको कस्तुरे ओडारसम्मको दूरी कायम गरिएको आयोजकले बताएका छन् ।
कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको विजेताले २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेले ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सिरिजंघा गाउँपालिकाकै वडा नंं. ८ मा पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव सचिवालय समितिका संयोजक डा. चित्र मावोले बताए ।
म्याराथनका अतिरिक्त सिरीजंघा पर्यटन महोत्सवमा जलवायु परिवर्तनको असरबारे अध्ययन, कंचनजंघा साहसिक पदमार्ग अवलोकन, स्थानीय याक, चौरी प्रवद्र्धन तथा प्रर्दशन र कला, साहित्य तथा संगीत कार्यक्रमसमेत आयोजना हुने आयोजकले जनाएको छ ।