Logo
Logo
जम्काभेट

‘अहिले अवसरको खोजीमा छु’


756
Shares

भनिन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’ यो भनाइ रोशनी खड्काको जीवनमा पनि चरितार्थ भएको छ । रोशनी सानैदेखि कला क्षेत्र भनेपछि हुरुक्कै हुन्थिन् । खासगरी, उनी मोडलिङमा इच्छा राख्थिन् । इच्छा र रुचिले ग्ल्यामरस क्षेत्र रोजेकी रोशनी हाल मोडलिङमा भविष्य खोज्दैछिन् । पढाइले उनी इन्जिनियर हुन् । शारीरिक रूपमा रोशनी अपाङ्गता छिन् । उनको एउटा हातको औँला छैन । तर, उनी मोडलिङलाई करिअर बनाउन चाहन्छिन् ।

मोडलिङमा भविष्य खोजिरहेकी रोशनीले हालै ‘ऐरा फेसन’ले आयोजना गरेको ब्युटीपेजेन्टमा शीर्ष ताज पहिरहन सफल भएकी छिन् । रोशनी भन्छिन्, ‘एरा ब्युटीपेजेन्टको ताज जितेसँगै मोडलिङ क्षेत्रमा मलाई थप हौसला मिलेको छ ।’ हाल रन–वे अर्थात ¥याम्प मोडलिङमा व्यस्त रहँदै आएकी रोशनीले म्युजिक भिडियोहरूमा अभिनय गर्दै आएकी छिन् । मोडल रोशनी खड्कासँग रेजिना पाण्डेको जम्काभेट :

यो रन-वे मोडलिङ भनेको के हो ?
रन–वेमा एउटा डिजाइनरले बनाएको पहिरनलाई मोडलले लगाएर प्रमोशन गर्छ । खासगरी, -याम्पमा हिँडेर कपडाको प्रदर्शन तथा प्रमोशन गर्नु रन–वे मोडलिङ हो । यसमा कपडा मात्र नभई जुत्ता, चस्मा, ब्याग जे पनि हुन सक्छ ।

रन-वे फेसनबाट मोडललाई फाइदा छ कि छैन ?
विभिन्न डिजाइनरले बनाएका आफ्ना क्रियशनहरूलाई मोडलिङ गरेर सामाजिक सञ्जालमा देखाउँदा, प्रमोशन गर्दा आकर्षण बढ्छ । जसले कपडाको ब्राण्डको प्रमोशन हुन्छ र व्यापार बढ्न मद्दत गर्छ भने डिजाइनरले आफ्नो दक्षता देखाउने अवसर पाउनुका साथै मोडलहरूले पनि काम पाउँछन् । त्यसैले मोडललाई फाइदा नै छ । खासमा यो ब्रान्ड प्रमोशन हो । ब्रान्ड प्रमोशनका लागि रन–वे मोडलिङ विश्वव्यापी छ ।

रन–वे फेसनबाट मोडलहरूले रोजगारी पाएका छन् त ?
छ भन्दा फरक पर्दैन । अर्गनाइजर, डिजाइनर र मोडल सबैले काम र दाम पाएका छन् ।

मोडलिङबाट तपाईँको आम्दानी राम्रै छ ?
म भर्खर–भर्खर आइरहको छु । काम गर्दैछु । अहिलेसम्म जति काम गरेँ, सन्तुष्ट नै छु । अझैपनि अवसरको खोजीमा छु । अहिले मलाई कामको जरुरी छ ।

बेलाबेला पहिरनकै कारण किन मोडलहरू ट्रोल बन्छन् ?
धेरैजनाको इच्छा र रहर यस्तो हुन्छ कि मोडलले लगाएको पहिरन कपि गरेर लगाउन पाए हुन्थ्यो । यस्तो हुनु सामान्य पनि हो, किनकि मोडलले लगाएको पहिरन फेसेनेवल हुन्छ । तर, कति मोडलले लगाएको कपडा नमिल्ने हुन्छ । मलाई पनि सामाजिक सञ्जालमा हेरेर लगाएको कपडा लगाउन खोज्दा हाँसो उठ्छ । पहिरन नमिलाई लगाइयो भने त्यही पहिरन सामाजिक सञ्जालमा ट्रोल बनाइन्छ । ग्ल्यामरस क्षेत्रमा यो सामान्य चलन हो ।

ऐरा एम्बेसडर विजेता हुँदा कस्तो महसुस भयो ?
धेरै खुसी लागेको थियो । प्रयास गरे जे पनि सम्भव हुन्छ भन्ने लागेरै त्यस कार्यक्रममा सहभागी भएकी थिएँ । सफल पनि भएँ । तर, कतिले कमजोर भएर पनि विजेता बनिन् भन्दै टिप्पणी गरे । म कमजोर भएर यस कार्यक्रममा सहभागी भएको पक्कै होइन । मसँग कला र प्रतिभा भएरै कार्यक्रममा प्रतिस्पर्धा गरेकी हुँ । अरूले जेसुकै भनुन्, तर त्यो कार्यक्रमबाट मलाई थप आत्मविश्वास र हौसल मिलेको छ ।

तपाईँ ग्ल्यामरस फिल्डमा हुनुहुन्छ । आफन्त र समाजले हेर्ने नजर कस्तो छ ?
राम्रो नजरले हेरेपनि बोलीले ठेस पुराउँछन् । कतिपयले राम्री छोरी छे, तर हात छैन भन्दै ‘बिचरा’सम्म भन्छन् । यो ‘बिचरा’ शब्दले मलाई दुःख लाग्छ । समाजले दिएको पीडाले मेरो मन जलिरहन्थ्यो । साथीभाइ, आफन्तले पछाडि कुरा काट्दा बच्चाबेलामा फरक पर्दथ्यो । तर, अहिले मलाई केही फरक पर्दैन ।

तपाईँलाई हातकै कारण कतै अप्ठेरो भएको छ ?
मेरो काममा खासै फरक पर्दैन । तर, गाडी सिक्न पाउँदिन । बाइक चलाउन पाउँदिन । यस्ता कुराले चाहिँ चित्त दुख्छ । तर मभन्दा कमजोरलाई हेर्छु र चित्त बुझाउँछु ।

अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नजर फरक देख्दा तपाईँलाई कस्तो लाग्छ ?
मानिसहरूको सोच देख्दाचाहिँ दुःख लाग्छ । अगाडि ‘बिचरा’ भन्छन् । पछाडि हाँस्छन् र खिल्ली उडाउँछन् । वास्तवमा यो राम्रो होइन । जे, जस्तो भए पनि मानिस एउटै हो ।

-याममा मोडलिङ गर्दा हातकै कारण कसैले केही भनेका छन् ?
कतिले भनेका छन् । देख्नेबितिकै हाँस्छन । तर, म कमजोर भने हुदिनँ । झन् मलाई काम गर्ने रहर जाग्छ । केही गरेर देखाऊ जस्तो लाग्छ ।

इन्जिनियर पढेर मोडलिङतिर किन ?
आई लभ मोडलिङ । यसैले होला, समाजले जे भने पनि मैले मोडलिङ रोजे । भविष्यमा सिनेमाका साथै म्युजिक भिडियोमा पनि काम गर्ने रहर छ । भगवानले मेरो रहर पुराइदिए हुन्थ्यो ।

मिहेनत गरेर इन्जिनियर पढेर के गर्ने ?
म मात्र होइन, इन्जिनियर पढेका धेरै यो क्षेत्रमा छन् । म पनि पढाइ सिध्याएर अहिले इन्जिनियर लाइसेन्सको पखाइमा छु । अहिले चाहिँ मोडलिङमै रमाइरहेकी छु ।

तपाईँको नयाँ प्रोजेक्टहरू कतिको आइरहेको छ ?
यस क्षेत्रमा मैले कोही नचिनेर पनि होला, काम कमै पाएको छु । बिस्तारै आउदैछु । म अहिले अवसरको खोजीमा छु ।

प्रतिक्रिया दिनुहोस्