काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो अपराजित यात्रा कायम राख्दै शनिवार चेन्नई सुपर किङ्सलाई २५ रनले पराजित गरेको छ। यो दिल्लीको लगातार तेस्रो जित हो।

पहिले ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो। ओपनर केएल राहुलले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७७ रनको योगदान दिए। अभिषेक पोरेलले ३३ रन बनाए भने ट्रिस्टन स्टब्स २४ रनमा अविजित रहे।
चेन्नईका बलरमध्ये खलील अहमदले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। रविन्द्र जडेजा, नूर अहमद र मथिसा पथिरानाले समान १\१ विकेट हात पारे।
१८४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो। विजय शंकरले उत्कृष्ट प्रदर्शन गर्दै ६९ रनमा अविजित रहे, तर उनको इनिङ्स पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। कप्तान एमएस धोनी २५ रनमा नटआउट रहे।
दिल्लीका बलरहरू उत्कृष्ट रहे—विपराज निगमले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले १\१ विकेट लिए।
यो जितसँगै दिल्ली क्यापिटल्सले ३ खेलबाट ६ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ। चेन्नई सुपर किङ्सले भने ४ खेलबाट मात्र २ अङ्क जोड्न सकेको छ र हाल आठौँ स्थानमा छ।