Logo
Logo

प्रहरीको खरिदमा सशस्त्रका डिआइजीको चलखेल


37.5k
Shares

काठमाडौं । नेपाल प्रहरीको खरिदमा केही ठेकेदारहरुले चलखेल सुरु गरेका छन् । नेपाल टेलिकमका सातौँ तहका इन्जिनियर भए पनि कहिल्यै हाजिर नगरी तीनवटै सुरक्षा निकायमा ठेक्कापट्टा गर्दै आएका टोपेन्द्र बिसीले आइजिपी फेरिनासाथ ५ करोड रुपैयाँको रुकस्याक ब्याग खरिदको टेण्डर गराउँदैछन् ।

आर्थिक वर्षको अन्तिममा प्रहरीका लागि २० हजार थान रुकस्याक ब्याग (पछाडि भिर्ने ब्याग) खरिदको टेण्डर सूचना एकदुई दिनभित्रै निकाल्ने तयारीमा प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयमाथि ठेकेदारले शक्तिकेन्द्रबाट दबाब सृजना गराएका छन् ।

ठेकेदार बीसीले सशस्त्र प्रहरी बलका डिआइजी दीपेन्द्र कुँवरमार्फत भानु देउवा लगाएर रुकस्याक ब्यागको बोलपत्र निकाल्न लगाएका हुन् । कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीयसचिव भानु देउवाका बहिनीज्वाइँ हुन् । सशस्त्रमा जुनियर र कार्यक्षमतामा अति कमजोर कुँवर देउवाकै आडमा वरिष्ठ र काबिल एसएसपीहरुलाई पछि पार्दै हालै डिआइजी बढुवा भएका हुन् ।

तिनै कुँवरले प्रहरीको खरिदमा समेत ठेकेदारको प्रभावमा परी चलखेल गर्न थालेका छन् । कुँवरका जेठान भानुले गृहमन्त्री रमेश लेखकमार्फत् प्रहरी प्रधान कार्यालयमा दबाब दिएर प्रबन्ध निर्देशनालयले टेण्डर निकाल्न लागेको हो ।

डिआइजी कुँवर र ठेकेदार बीसीबीच सशस्त्रका खरिदमा ठूलो सेटिङ छ । सशस्त्रमा पाँच बर्षदेखि आर्थिक प्रशासनमा बसी खरिदमा हालीमुहाली गर्दैआएका कुँवरले जेठानमार्फत् नेपाल प्रहरीको खरिदमा पनि ठेकेदार बिसीलाई लाभ पुर्याउन चलखेल गरेको आरोप छ ।

आर्थिक बर्ष सकिन ३ महिनामात्र बाँकी छ । असार २० गतेसम्म चेक काट्न मिल्छ । असार २० गते खाता क्लोज गर्नैपर्छ । चैत अन्तिममा टेण्डर सूचना निकालेर असारसम्म सामान आपूर्ति गर्न सम्भव नै छैन । तर पनि ठेकेदार बीसीको लागि रुकस्याक ब्यागको टेण्डर निकाल्न लागिएको छ ।

एउटा ब्यागको २ हजार २ सय रुपैयाँ मूल्य पर्ने २० हजार वटा ब्याग खरिदको नमूना टोपेन्द्र बीसी र उनका साझेदार श्रवण अग्रवालको कम्पनी तेजसमलाई दिनेगरी सेटिङ भइसकेको छ । क्राइटेरियामै बिसी र अग्रवालको कम्पनीलाई मिल्नेगरी बनाएकाले टेण्डर सूचना निकाल्नुअघि नै उनीहरुले ठेक्का पाउने लगभग निश्चित भएको चर्चा प्रहरीमा छ । स्रोत भन्छ– औपचारिकताका लागि मात्र टेण्डर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्