काठमाडौं । मुम्बई इन्डियन्सका स्टार फास्ट बलर जसप्रीत बुमराह ढाडको चोटपछि पुनः टिममा फर्किएका छन्। आगामी अप्रिल ७ मा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सँगको खेलअघि बुमराह टोलीसँग पुनः आबद्ध भएका हुन्। तर उनी आरसीबीविरुद्ध प्लेइङ इलेभनमा स्थान बनाउने कि नबनाउने भन्नेमा अझै अन्योल छ।

ढाडको शल्यक्रिया पश्चात् बुमराहले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) अन्तर्गतको एक्सिलेन्स सेन्टरमा लामो समय बिताएका थिए । पछिल्लो रिपोर्टहरूका अनुसार उनले मुम्बई इन्डियन्सको टिमसँग प्रशिक्षण सुरु गरिसकेका छन्, तर उनको फिटनेसबारे अन्तिम निर्णय आउन बाँकी छ।
बुमराहको आईपीएलमा पूर्णरूपले पुनरागमन १३ अप्रिलमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा हुने अपेक्षा गरिएको छ। सन् २०१३ देखि मुम्बई इन्डियन्सको बलिङ आक्रमणको मेरुदण्ड मानिने बुमराहले हालसम्म फ्रेन्चाइजका लागि १३३ खेलमा १६५ विकेट लिएका छन्। तर चोटका कारण उनले गत वर्षको आइपीएल मिस गरेका थिए ।
उनको पछिल्लो चोट सन् २०२५ को जनवरी ४ मा सिड्नीमा भएको बोर्डर-गावस्कर ट्रफीको टेस्ट खेलमा लागेको थियो। सो चोटले उनलाई च्याम्पियन्स ट्रफीबाट समेत बाहिर रहन बाध्य बनायो। यसै कारण उनले आईपीएल २०२५ को सुरुआती खेलहरू गुमाएका छन् ।
मुम्बई इन्डियन्सले बुमराहलाई यस सिजनका लागि १८ करोड रुपैयाँमा रिटेन गरेको छ। टोलीले अहिले सम्म चार खेल खेलेको छ, जसमा केवल एक खेलमा मात्र विजय हासिल गरेको छ। हाल मुम्बई इन्डियन्स अङ्क तालिकामा सातौँ स्थानमा रहेको छ ।











