काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आम शैक्षिक हडताल गरे शिक्षकहरू काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा सोमबार शिक्षकहरूले काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरे ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।

आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।