Logo
Logo

१० लाख भन्दा बढीको अवैध कपडासहित गाडी नियन्त्रणमा


2k
Shares

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित भलुवाहि गाउँबाट सशस्त्र प्रहरीले करीब १० लाख ८ हजार रुपैयाँ बराबरको लत्ता कपडासहित एक गाडी नियन्त्रणमा लिएको छ।

चैत्र २४ गते, विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले कारबाही गर्दै बा.प्र.०१–०२७ च ८५०३ नम्बरको टाटा पिकअप गाडी नियन्त्रणमा लिएको हो।

उक्त गाडीमा वीरगंज महानगरपालिका–१६, भुटनदेवी मन्दिर नजिकबाट २० बोरा कपडा लोड गरी जितपुर–सिमरा तर्फ लैजाँदै गरिएको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले गाडीलाई पछ्याउँदै भलुवाहिमा रोकेको थियो। सो क्रममा चालक गाडी छाडेर फरार भएका थिए।

गाडीबाट सर्टिङ–सुटिङ कपडा, साडी लगायतको लत्ताकपडा बरामद गरिएको छ। नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

भन्सार कार्यालयमा बुझाइएको विवरणअनुसार, गाडीको भन्सार दाखिला मूल्य २५ लाख रुपैयाँ र लत्ताकपडाको मूल्य १० लाख ८ हजार रुपैयाँ कायम गरिएको छ। सोअनुसार, कुल ३५ लाख ८ हजार रुपैयाँ बराबरको सामान भन्सारमा दाखिला गरिएको हो।

प्रतिक्रिया दिनुहोस्