काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग सम्बोधन गर्नका लागि सरकार तयार रहेको बताएका छन् । काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माग सम्बोधन गर्नको लागि आफू रहेको र शिक्षकहरूले आन्दोलन गरिरहनु पर्ने अवस्था नरहेको बताएका हुन् ।

कार्यक्रममा ओली भने ‘सङ्क्रमणकालीन अवस्था अझै पार भैसकेको छैन भन्ने कुरा पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भनिराख्या छ हामी सुनिरहेका छौँ । त्यो एउटा प्रमाण हो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ का अवसरमा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अरू केही प्रवृत्ति पनि रहेको बताएका हुन् । ‘त्यस्ता प्रवृत्तिहरू । ती पनि छ्यालब्याल पोखिने गरेका छन् । मौसम त्यस्तो हुँदो रहेछ । अलि ठुलो हावा चल्यो भने बलियो रुख त रहला तर हाँगाबिँगा हावासँगै ढल्किन्छन् ।’
उनले अहिले शिक्षक आन्दोलन चलिरहेको भन्दै किन चलाएको हो ? भनेर प्रश्न समेत गरे । ‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । म प्रधानमन्त्री छु, भनिराखेको छु । जायज मागहरू लिएर कोही आउँदाखेरि आन्दोलन गरिरहनुपर्दैन हामी त्यसको समाधान दिन्छौ’, ओलीले भने, ‘हामी त्यसलाई सम्बोधन गर्न तयार छौ । दुःख पाउनुपर्दैन, सडकमा गएर सुत्नै पर्दैन भनिराखेका छौ उहाँहरूले किन दुःख पाउनुभएको हो ? ’ प्रधानमन्त्रीले शिक्षकहरू संवादमा आउने बित्तिकै माग सम्बोधन गर्ने पनि बताए ।