काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक संघले आन्दोलनरत शिक्षकहरूको जायज मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेको छ ।
संघका अध्यक्ष कोषबहादुर जी.सीले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको र उनीहरूको जायज माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन् ।
शिक्षकहरूको आन्दोलनले देशभरका विद्यालयहरूमा पठन पाठन, विद्यार्थी भर्ना अभियान, एसईई नतिजा प्रकाशनलगायतमा बाधा पुग्ने परिस्थिति सिर्जना भएकाले विद्यालय सुचारु गराउने वातावरण बनाउन संघको अपिल छ ।

संघीय विद्यालय शिक्षा ऐनको माग गर्दै ६ दिनदेखि सडक आन्दोलनमा उत्रिएका शिक्षकहरूले सोमबारदेखि आन्दोलनलाई हडतालका रूपमा अघि बढाएका छन् ।
शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ ।
शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको छ ।
शिक्षकहरूले केही पेसागत र केही संविधान, संघीयताविपरीत माग राखेर आन्दोलनको घोषणा गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्म स्थानीय तहको एकल अधिकार रहने व्यवस्था गरेको छ । तर शिक्षकहरूले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै आएका छन् ।
जिल्ला शिक्षा कार्यालय÷इकाइ यथावत् राखेर शिक्षकको रेखदेख, खटनपटन, सरुवा, बढुवा, नियुक्ति, कारबाही व्यवस्थित गरिनुपर्ने उनीहरूको मुख्य माग छ ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य सूचना प्रविधि समितिमा विचाराधीन छ । २०८० भदौमा विधेयक संसद्मा दर्ता भएपछि शिक्षकले काठमाडौंमा तीन दिन प्रदर्शन गरेका थिए ।
सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि शिक्षक विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएकाले शिक्षकहरू पुनः आन्दोलित बनेका हुन्।