काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि हितेन्द्रदेव शाक्यलाई कामकाज गर्ने बाटो खुलेको छ ।

शाक्यको नियुक्तिमा अन्तरिम आदेश नभएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड््काले ८ सय मेघावाटको सोलार प्लान्टको पीपीएमा आँखा लगाएका छन् । मन्त्री खड्काको निर्देशनमा उत्तम ब्लोन तामाङ, अरुण केसी र अक्षय गोल्यानको बिचौलिया समूह सोलार कम्पनीहरूसँग मोलमोलाइमा सक्रिय भएको छ । यो समूहले प्रतिमेगावाट ३ लाख दररेट तय गरी बिद्युत खरिद सम्झौता(पीपीए) र सोलार आयोजनाको सर्भे लाइसेन्स गराउने जिम्मा लिएका छन् ।
विभिन्न बहानामा सर्भे लाइसेन्स दिन आनाकानी गर्दैआएका विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहलाई समेत ब्लोन, केसी र गोल्यानको समूहको प्रभावमा पारिसकेको छ । अनेक बहाना बनाउँदै आएका सिंह बिचौलिया समूहसँग डिल मिलेपछि हतार हतार कार्यबिधि नै संशोधन गरी लाइसेन्स दिन सहमत भएका थिए ।
मन्त्री र उनले परिचालन गरेको बिचौलिया समूहको चलखेल थाहा पाएपछि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पीपीए र सर्भे लाइसेन्स रोेकेका थिए । कुलमानले पीपीए रोकिदिएपछि तनावमा परेको बिचौलिया समूह उनलाई हटाइएपछि खुसीयाली मनाउँदै सोलारबाट बिद्युत उत्पादनको पीपीए गर्न मन्त्री खड्कामार्फत् नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेवलाई दबाब दिइरहेको छ ।
यो समूहले सोलारको पीपीएको आवेदन दिएका सबै कम्पनीहरूसँग काम गराइदिन्छु भनेर करोडौं रकम उठाइसकेको स्रोत बताउँछ । बिचौलियाले अग्रिम फन्ड संकलन गरिसकेकाले मन्त्री खड्काले सर्भे लाइसेन्स जारी गराउन र पीपीएका लागि तीव्र रुपमा अगाडि बढाउन निर्देशन दिएका हुन् ।
ऊर्जा मन्त्रालयमा अहिले जग्गा दलाल अरुण केसी, उत्तम ब्लोन, अमित श्रेष्ठ, अक्षय गोल्यानको समूहले सोलार प्लान्टको नाममा बिभिन्न कम्पनीसँग झन्डै ३० करोड रुपैयाँ उठाइसकेको स्रोत बताउँछ । उत्तम ब्लोन तिनै ब्यक्ति हुन्, जो मारवाडी ब्यवसायीहरुको एजेन्टको रुपमा जलबिद्युत आयोजनामा चलखेल गर्ने गर्दछन् ।
अक्षय गोल्यान डेडिकेटेड र ट्रंकलाइनको ८० करोड महसुल नतिर्ने रिलायन्स स्पीनिङ मिल्सका संचालक पवन गोल्यानका छोरा हुन् । साना किसानलाई व्यावसायिक बनाउँदै उत्पादन बृद्धि गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियतपूर्ण कृषि कर्जामा पवन गोल्यानले रजगज चलाउँदैआएका छन् । अरुण केसी मन्त्री दीपक खड्काले अर्थ संकलनमा खटाएका बिचौलिया हुन्, बुढानीलकन्ठमा बोलाउँदै उनले मन्त्रीको तर्फबाट कम्पनीका संचालकदेखि विद्युत विकास बिभाग र प्राधिकरणका हाकिमहरुलाई निर्देशन दिने गरेका छन् ।
मन्त्री खड्काका आर्थिक सल्लाहकारको रुपमा ऊर्जा मन्त्रालयमा छिरेका अमित श्रेष्ठ पछिल्ला दिनमा उनका बिचौलिया बनेका छन् । ठूलो लेनदेन गरेको सूचना पाएपछि कुलमानले होल्ड गरेको सोलार प्लान्टको फाइलमा हितेन्द्रदेव शाक्यले बिचौलिया समूहको स्वार्थ पूरा गर्छन् कि उनीहरुको चंगुलमा परी लाइसेन्स जारी गर्छन् त्यो भने हेर्न बाँकी छ । उत्तम ब्लोन, अरुण केसी, अमित श्रेष्ठ, अक्षय गोल्यानको समूह एकमुष्ट रकम उठाइसकेकाले जसरी पनि पीपीए गर्ने खेलमा छ ।
स्मरण रहोस्, १ सय ६ मेघावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का सेटिङमा मन्त्री खड्काको कार्यकक्षबाटै ठेकेदारहरुलाई चेक बाँड्ने अरुण केसी र उत्तम ब्लोन नै थिए । जुन चेककाण्ड बाहिरिएपछि जगदुल्लाको ठेक्का रद्द गर्न मन्त्री खड्का बाध्य भएका थिए । र, चेककाण्डपछि पुनः भएको जगदुल्लाको ठेक्का सेटिङमा पनि केसी र ब्लोन सक्रियताका साथ लागिरहेको स्रोत बताउँछ ।
प्रस्तुत समाचारमा ऊर्जा मन्त्री दीपक खड्काबाट खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

त्यस्तै अक्षय गोल्यानबाट पनि खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ ।
मिति : २०८१/१२/२६
श्री सम्पादकज्यू,
दृष्टि मिडिया प्रालि नक्साल, काठमाडौँ
नेपाल ।
आदरणीय सम्पादकज्यू,
विषयः कुठा तथा भ्रमपूर्ण समाचार सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा तहाँ दृष्टि मिडिया प्रालिद्वारा आज मिति २०८१/१२/ २६ मा दृष्टिन्युजमा प्रकाशित ‘कुलमान हटेपछि : आठ सय मेगावाटको सोलार प्लान्टमा मन्त्री र बिचौलियाको सेटिङ’ शीर्षक समाचारमा मेरो नाम तथा तस्बिरसमेत प्रयोग गरी मैले विभिन्न व्यक्तिहरुसँग मिली अन्य ऊर्जा कम्पनीसँग पीपीएको काम गर्दिछु भनी उल्लेखनीय रकम उठाएको र सो काम गर्नका लागि सार्वजनिक निकायलाई प्रभावमा समेत पारेको जस्तो बिल्कुलै तथ्यहिन, कपोकल्पित र पूर्णरुपमा मेरो मानहानी गर्ने आसयले समाचार प्रकाशित भएको हुँदा उक्त समाचारप्रति मेरो गम्भीर आपत्ति रहेको छ ।
सो समाचारमा मैले त्यहाँ उल्लेखित कार्य गरेको पुष्टि हुने कुनैपनि वस्तुगत प्रमाण खुलाइएको छैन, केवल एक नाम नखुल्ने ‘श्रोत’को भनाईलाई नै समाचारको सम्पूर्ण आधार बनाइएको रहेछ । तर, तपाइँको श्रोतले उल्लेख गरेजस्तो मैले आजसम्म सरकारी निकायमा काम गर्दिन्छु भनी कसैसँग एक रुपैयासम्म लिएको छैन ।
फेरि सो समाचारमा मेरो मात्रै नभई मेरो बुबा श्री पवन गोल्याणको समेत नाम उल्लेख गरी अर्को निराधार र झुठा आरोप लगाइएको रहेको, जसलाई पनि पुष्टि गर्ने कुनै ठोस आधार त्यहाँ उल्लेखित छैन । यसबाट पनि म र मेरो परिवारको मानहानी गर्ने नियतले आधारहिन समाचार प्रकाशन गरिएको छर्लंग हुन्छ ।
यसरी म संलग्ननै नरहेको कार्यमा मेरो नाम, तस्विर तथा मेरो बुबाको नाम समेत प्रयोग गरी म माथि यस किसिमको गम्भीर आरोप लगाउने कार्यले म र मेरो परिवारको मानसिक स्वास्थ्य, पेशा व्यवसाय र सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ । तसर्थ, उक्त भ्रमपूर्ण र असत्य समाचारको खण्डनको गरिदिन अनुरोध गर्दछु ।
अक्षय गोल्याण
बोधार्थ
श्री प्रेस काउन्सिल सञ्चारग्राम, काठमाडौं ।
त्यसैगरी अमित श्रेष्ठबाट पनि खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ ।

प्रस्तुत समाचारप्रति उत्तम ब्लोन तामाङले पनि खण्डन गरेका छन् । यस्तो छ उत्तमको खण्डन ।

नोट : स्रोतको विश्वासनीयतमा सम्प्रेषित प्रस्तुत सामग्रीप्रति ध्यानाकर्षण जनाउँदै खण्डन प्राप्त भएकालेले जस्ताको तस्तै यहाँ स्थान दिइएको छ । र, यस समाग्रीप्रति सत्यतथ्य के हो ? भन्ने तथ्यको खोजी जारी रहने छ । –सम्पादक