Logo
Logo

सचिव बढुवामा बिचौलिया हाबी


5.9k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा तीनजना दाबेदार थिए । १२औं तहका डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र टंक बराकोटी सचिवका दाबेदार थिए । यीमध्ये १२औं तहमा १ बर्षअघि बढुवा भएकी वरिष्ठ डा. मिश्रको बढुवा हुने अनुमान सबैले गरेका थिए । महिला र मधेशी मिश्र वरिष्ठ भए पनि उनी बढुवामा परिनन् । उनीभन्दा १ वर्ष जुनियर डा. देवकोटाको नाटकीय ढंगले सचिवमा बढुवा भयो ।

विशाल पण्डित

बाहिरबाट मन्त्री प्रदीप पौडेलको पहलमा देवकोटा सचिवमा बढुवा भएको अनुमान सबैले लगाउँदैआएका छन् । तर एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका महामन्त्री गगनकुमार थापाको जोडबलमा उनी बढुवा भएको भित्री तथ्य बाहिर आएको छैन ।

एमाले महासचिव पोखरेलको गृहजिल्ला दाङ घर भएका देवकोटा दिनहुँ उनको दैलोमा गएर बढुवाका लागि याचना गर्थे । तर स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा भएकाले उक्त पार्टी पनि मिलाउनुपर्ने थियो । कांग्रेस मिलाउन देवकोटालाई गगन थापाकोमा पुर्याउने काम स्वास्थ्य उपकरण माफियाका रुपमा चिनिएका बसेरा बुटिक होटलका संचालक एवं विचौलिया पृष्ठभूमिका बिशाल पण्डितले गरेका थिए । गगनकोमा पुर्याउने मात्र होइन, पण्डितले साढे ५ करोड नै खर्च गरेको स्वास्थ्य मन्त्रालयमा चर्चा छ ।

देवकोटालाई बढुवा गर्नुको पछाडि पण्डितको ठूलो स्वार्थ छ । पण्डित स्वास्थ्य उपकरण सप्लायर्स हुन् । यसबाट उनले अपारदर्शी ढंगले अर्बौँ कमाएका छन् । त्यही क्रमलाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा चलखेल गर्दै आएका छन् ।

सचिव भइसकेपछि देवकोटाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पण्डितकै सेटिङमा टंक बराकोटीलाई नियुक्त गराउन सफल भएका छन् । वरिष्ठ डा. मिश्रलाई जिम्मेवारीबिहीन बनाएर देवकोटाले बराकोटीलाई हतार हतार डीजी बनाएको आरोप छ ।

डा. रोशन पोखरेलको अवकाश हुनुभन्दा एकाध महिनाअघिदेखि नै देवकोटालाई गगन थापाकोमा रातिराति लिएर जाने काम भने मन्त्री पौडेलका निजी सचिव शालिग्राम दाहालले गरेका थिए । दाहाललाई मन्त्री पौडेलले पद बहाली गर्नासाथ गगनकै दबाबमा योजना शाखाको प्रमुख बनाएका थिए । उक्त शाखा स्वास्थ्यको सबैभन्दा आकर्षक मानिन्छ ।

स्वास्थ्य मन्त्रालय वा अन्तर्गत उपकरण आपूर्तिमा सेटिङ गरी प्रतिस्पर्धा नै हुन नदिएर एकाधिकार कायम गर्दैआएका बिशाल पण्डितले ११ करोडको क्यान्सरको उपचारमा उपयोग हुने टेमोथेरापी मेसिनको वीर अस्पतालबाट ३२ करोड भुक्तानी लिन सफल भएका छन् । उनले उक्त मेसिन करिब ११ करोडमा आयात गरेको भन्सार तिरेको अभिलेख अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे खुल्नेछ । वीर अस्पतालबाट उनले उक्त मेसिनको ३२ करोड भुक्तानी लिएको पनि अख्तियारले फाइल मगाएर हेरे छर्लङ्ग हुनेछ ।

वीर अस्पतालका तत्कालीन निर्देशक हाल न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले उक्त मेसिन पण्डितको कम्पनीबाट खरिद गरेका थिए । उनीपछि निर्देशक भएका डा. सन्तोष पौडेलले ११ करोडको मेसिनलाई तीन गुणा बढी रकम भुक्तानी दिन नसकिने भनेर केही महिना त रोके, तर एमालेको माथिल्लो तहबाटै दबाब दिएपछि उनी अन्ततः भुक्तानी दिन बाध्य भएका थिए ।

स्वास्थ्य उपकरण खरिदमा नेपालमा कति ब्रम्हलुट छ भन्ने वीरको टेमोथेरापी मेसिन खरिद एक उदाहरण हो, पण्डितको समूहले देशभरीका अस्पतालमा यसैगरी सेटिङमा टेण्डर गर्दा नै क्राइटेरिया आफ्नो कम्पनीलाई मात्र मिल्नेगरी बनाएर तीनचार गुणा महंगोमा उपकरण आपूर्ति गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्