काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा रहेको भन्ने विषय हल्ला मात्रै भएको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेशनले सोमवार काठमाडौँमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको बताए ।
आदित्यनाथले राजा फर्काउने अभियान नरहेको भनेको भन्दै सभापति देउवाले भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको बताए। उनले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको स्मरण गराए ।
दोउवाले भने, ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्न धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ। उवेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो। चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलाफमा छैन भारत भन्ने पुष्टि भयो । त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौँ। अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ। तर मलाई के थाहा छ भने आदित्यनाथजीले भारतस्थित हाम्रो दूतावासमा गएर मेरो कुनै हात छैन‚ नेपाली जनताले जे चाह्यो त्यही हुन्छ‚ म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ। त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ।’