Logo
Logo

शक्ति देखाउँदै राप्रपा, प्रदर्शन शान्तिपूर्ण बनाउन चुनौती 


2.4k
Shares

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानका व्यवस्था नै उल्ट्याउने उद्घोष गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत्र २६ गते संघीय राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्दै छ । 

गणतन्त्र ढालेर राजतन्त्र फर्काउने, हिन्दुराष्ट्रको पुनः स्थापना गर्ने, प्रदेश संरचनाको खारेजी गर्नेलगायत एजेन्डा बोकेर राप्रपाले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अब देशलाई आफ्नो खाँचो रहेको सन्देश जारी गरेपछि हौसिएको राप्रपाले पहिलो पटक शक्ति प्रदर्शन गर्न लागेको हो । 

राप्रपाले घोषणा गरेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पङ्क्तिलाई अपिल गरेको छ । यसअघि अरू राजावादी समूहले गरेको आन्दोलनमा सहभागिता जनाएपनि आन्दोलनको नेतृत्व राप्रपा आफैले गरेको थिएन ।  

भृकुटीमण्डपमा सभा गर्न दिएन
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । 

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको छ ।

सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत् राप्रपालाई दिएको थियो । त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।

शान्तिपूर्ण बनाउन चुनौती 
यही चैत्र १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा भएको राजावादी आन्दोलन हिंसात्मक बन्न पुगेको थियो । सोही कारण पनि २६ गते राजावादीको प्रदर्शन कस्तो होला भन्ने चासो सर्वत्र छ । 

तीनकुने प्रदर्शनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालगायत पक्राउ परेका छन् भने जनकमान्डर दुर्गा प्रसाईँ फरार छन् । त्यसपछि पक्राउ परेका आफ्ना नेताहरू रिहाइ, तीनकुने घटनाको न्यायिक छानबिन लगायत माग राखेर राप्रपाले चरणबद्ध आन्दोलन गरिरहेको छ । 

तीनकुनेमा राजसंस्था पक्षधर दल र समूहले गरेको प्रदर्शन हिंसा, लुटपाट र आगजनीमा बदलिएको थियो । दुई जनाको ज्यान जाँदा थुप्रै सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड हुन पुग्यो । 

त्यस घटनामा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणामाथि फौजदारी कसुरमा अनुसन्धान चलिरहेको छ ।  त्यसैले दुःखलाई शक्तिमा परिणत गर्ने राप्रपाको तयारी छ । 

राप्रपाले गर्न लागेको शक्ति प्रदर्शनलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले पनि समर्थन जनाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘अवस्था बदल्न, व्यवस्था बदलौँ भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत् आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय झन्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा हार्दिक आह्वान समेत गर्दैछौं ।’ 

राप्रपा दुःखलाई शक्तिमा परिणत गर्ने योजनामा हुँदा सत्तारुढ दलका नेताहरूले भने विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्दै आएका छन् ।

संस्थागत मुद्दा बोक्ने हिसाबले राप्रपा सतहमा देखिएपनि प्रसाईँ र केही नेताले पार्टीका सबैलाई क्षति पु¥याएको कतिपयको विश्लेषण छ । राजावादीको पछिल्लो अराजक र उद्दण्डतापूर्ण प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र समेत आलोचित बनेका छन् । 

चैत्र १५ को प्रदर्शनले सबैभन्दा ठूलो क्षति राजावादी र राप्रपालाई भएको छ । अरूले हिंसात्मक बनाइदिएपछि २६ गतेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने चुनौती राप्रपालाई छ । 

राजतन्त्र पुनःस्थापनाको दलगत एजेन्डा राप्रपाले बोके पनि अप्रत्यक्ष रूपमा नागरिक तथा जनतास्तरमा ‘राजा चाहिने रहेछ’ भन्ने मनोभावना बलियो बन्दै गएको छ । पछिल्लो समय दक्षिणी छिमेकी मुलुक भारतको चाहना र उक्साहटमा पनि मुलुकभित्र हिन्दू राष्ट्रको पक्षमा माहौल बन्दै गएको छ । 

‘संघीयता महँगो भयो, जनताको सुविधाका लागि भन्दा पनि दलहरू र तिनका नेता–कार्यकर्ता व्यवस्थापन गर्ने भाँडो मात्रै भयो’ भनेर जनतामा वितृष्णा उत्तिकै बढेको छ । त्यसैले राप्रपाको आन्दोलनलाई सरकारले नजरअन्दाज गरे फेरि चैत्र १५ को घटना नदोहोरिएला भन्न सकिँदैन । 

प्रतिक्रिया दिनुहोस्