Logo
Logo

संकटमा ठमेलका व्यवसायी


- दीपेन्द्र कुँवर

189
Shares

  • दीपेन्द्र कुँवर

ठमेल आफैँमा नामै काफी छ । विगत ५० वर्षदेखि ठमेलले विश्वभरका पर्यटकहरुको सेवा गरेको इतिहास छ । आज पनि कतिपय पर्यटकहरुले नेपाल भन्नासाथ ठमेलमा बिताएका रमणीय क्षणहरुको सम्झना गर्छन् । ठमेललाई चिनाउन यहाँका १७०० घरधनी तथा यहाँभित्र रहेका करिब ५७०० पर्यटकीय व्यवसायीहरुको पाँच दशक लामो संघर्ष, धैर्यता र लगनशीलताको इतिहास छ । २०७२ सालमा आएको महाभूकम्पका समयमा होस वा आन्तरिक राजनीतिक उतारचढावहरुले पु¥याएका चोटहरुको सामना ठमेलले गरेको छ ।

दीपेन्द्र कुँवर

यहाँ दिन तथा रात्रि मनोरञ्जनका लागि बार, पव, रकबार, दोहोरी, डान्सबारलगायत विभिन्न देशका खानाका परिकारहरु पाइने हुनाले ठमेल सबैको गन्तव्य बनेको छ । ठमेलमा दक्षिण एशियाकै ठूलो नाइट क्लबको स्थापना पनि भएको छ ।

तर, विगत चैत ११ गतेदेखि विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को कारण नेपाल सरकारले लगाएको बन्दाबन्दीले यहाँको सम्पूर्ण पर्यटकीय गतिविधि शून्यगतिमा झरेको छ । यहाँका भाडामा बस्ने व्यवसायीहरुको बिजोग भएको छ । त्यसमा आश्रित घरपरिवारलाई हातमुख जोड्न धौधौ पर्न थालेको छ । रोजगारी, राजश्वको प्रमुख स्रोत ठमेलको भविष्यप्रति सरकार पनि मौन छ । कोभिड–१९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेकाले यसको अस्तित्व रक्षा सरकारले गर्न सकेन भने यस क्षेत्रका लगानीकर्ता अन्य पेशामा जान बाध्य हुनेछन् । पर्यटन क्षेत्रका लागि बनाइएका भौतिक पूर्वाधार अर्पाटमेन्टतिर रुपान्तरण हुनेछन् ।

कोभिडका कारण विगत कैयौँ दशकदेखि भाइचाराको सम्बन्ध बनाएर बसेका घरधनी र भाडामा बस्ने व्यापारीबीच खिचातानी र वैमनश्यता हुने स्थिति आइलागेको छ । यसको मुख्य जड भनेको बिनाव्यापारको व्यावसायिक घरभाडाका कारण नै हो । घरधनीले हिजो खाइपाइ आएको भाडामा सहुलियत दिन नचाहने र भाडा बस्ने व्यापारी बिनाव्यापारको भाडा तिर्न आनाकानी गर्ने । हाल दैनिक सात–आठ पसलकवल खाली भइरहेका देखिन्छन् । हालसम्म ३०० भन्दा बढी पसलहरु खाली भइसकेको अवस्था छ । यसले के देखाउँछ भने भोलि यस महामारीपछि स्थिति सुध्रिएमा अबको पर्यटनसँग सम्बन्धित व्यवसाय ठमेलबाट अन्यत्र कतै पो सर्ने हो कि भन्ने चिन्तासमेत थपिएको छ । यस परिस्थितिलाई मध्यनजर राखी अबको अवस्थामा मेरो गोरुको बाह्रै टक्का भन्ने स्थिति र समय रहेको छैन । यसमा दुवै पक्षले समग्र परिस्थितिको मूल्यांकन गरेर ‘विनविन’ रूपमा अगाडि नबढेसम्म समस्या समाधान हुने देखिन्न ।

यहाँ करोडाँैकरोड बैंकबाट ऋण लगानी गरेर कमाउला भन्ने व्यापारीहरु ७० प्रतिशतभन्दा बढी छन् । उनीहरुको तिर्ने स्रोत भनेकै पर्यटकमा आधारित व्यवसायहरु हुन् । यस्ता प्रकारका व्यवसायीहरुको आँट र भोलिको भरोसाले नै ठमेल ठमेलका रूपमा आजसम्म जीवित छ । र, यसलाई हरेका कोणबाट आज बचाइएमा मात्र भोलि ठमेलको अस्तित्व जोगिने छ । यस समस्यालाई समाधान गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पारेको हालसम्मको असर, समग्ररुपमा अब पार्न सक्ने प्रभाव र भोलिका दिनको मूल्यांकन गरी घरमालिक र व्यवसायीबीच आत्मीय सम्बन्ध स्थापित गर्नुपर्छ । घरधनी र घरबहालमा बस्ने व्यवसायीहरुको समग्र आर्थिक सर्वेक्षण तथा हिजोको व्यापारको अवस्था, हिजो घरधनीले लिइएको भाडाको रकम तथा गरेको आम्दानीको मूल्यांकन गरिनुपर्छ । काठमाडौंको अन्य स्थानमा लिने घरभाडा रकमको र ठमेलमा लिइने घरभाडाका अनुपात, भोलि समय अनुकूल भएमा हुने समग्र व्यापारको परिस्थिति समेतलाई मध्यनजर गर्दा घरधनी तथा बहालमा बस्नेहरुलाई ठेस नपुग्ने गरी मिलनविन्दु खोजिनुपर्छ ।

विगत २०७६ चैत, २०७७ वैशाख र जेठसम्मको तीन महिनाको ५० प्रतिशत घरभाडा छुट र बाँकी नौ महिना अर्थात् फागुन २०७७ सम्मका लागि ३५ प्रतिशत घरभाडा रकम छुट पाएमा कोही पनि ठमेलका व्यापारी ठमेल छाडी अन्यत्र पलायन हुनुपर्ने अवस्था आउने थिएन । नत्र हाल पसल कवल छोडेका ३०० पसलवाला र अन्य केही ठूला ज्वेलरी तथा टुरिष्टसप, ट्रेकि«ङसपका व्यापारीले आँट गरेमा ठमेल अन्यत्र कतै लाजिम्पाट, बालुवाटार तथा नक्साल क्षेत्रमा सर्न सक्ने प्रवल सम्भावना छ । बालुवाटार, लाजिम्पाट क्षेत्रका प्रत्येक पाँच घरका बीच एक अपार्टमेन्ट वा होटेल खुल्न थालिसके । अन्तर्राष्ट्रियस्तरका त कैयाँै रेष्टुरेन्ट तथा होटेल खुलिसकेका छन् । त्यहाँका सडक चौडा र फराकिलाका साथै घरभाडासमेत ठमेलभन्दा आधा सस्तो र खानेपानी तथा सरसफाइको समेत राम्रो र व्यवस्थित प्रबन्ध छ । यसका लागि त्यस क्षेत्रका टोल व्यवसायीको केही प्रयास गरेमा ठमेल त्यस क्षेत्रमा नर्सला भनेर भन्ने अवस्था नरहला । त्यसकारण ठमेलमा रहेका व्यापारी र घरधनीले समयमा नै उचित र असल नियतले आ–आफ्नो पक्षमा मिलेर अगाडि बढ्ने जमर्को गराँै । यसैमा दुवै पक्षको भलो होला ।

प्रतिक्रिया दिनुहोस्