Logo
Logo

राप्रपाको प्रदर्शन : यी रुटका सवारी डाइभर्सन


2.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ ।

उनका अनुसार ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने छ । उनले ३० हजार मानिसलाई सभामा सहभागी गराउने गरी तयारी गरिएको बताए ।

सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्दैछन् । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिने पार्टी प्रवक्ता श्रेष्ठले बताए ।

प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जसअनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ ।

त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।

आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि त्रिभुवन विश्वविद्यालयको गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँबसपार्क र सितापाईला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्