अफगानिस्तान । संयुक्त राष्ट्रसंघ र तालिबानका अधिकारीहरूले हालैका दिनहरूमा हजारौँ अफगानीहरूले पाकिस्तानबाट सीमा पार गरेको बताएका छन् ।
पाकिस्तानले गत महिना अप्रिलको सुरुमा पाकिस्तानी अधिकारीहरूले जारी गरेको अफगान नागरिक कार्ड (एसीसी) बोकेका करिब आठ लाख अफगानीहरूलाई देश छोड्नका लागि समयसीमा तोकेको थियो ।

सन् २०२३ मा दशौं हजार अफगानीहरू पाकिस्तानमा निर्वासनको धम्की दिएर भागेका यस्तै दृश्यहरू सम्झँदै उत्तरको तोरखाम र दक्षिणमा स्पिन बोल्डकको मुख्य सीमा नाकामा आफ्ना सामानसहित अफगानी परिवारहरू लाइनमा उभिएका देखिन्थे ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले सोमबार सामाजिक सञ्जाल एक्समा जारी एक पोस्टमा जनाएको छ, ‘पछिल्लो दुई दिनमा आठ हजार २५ जना कागजातविहिन र एसीसी होल्डरहरु तोरखाम र स्पिन बोल्डक सीमा पार गरेका छन् ।’
तालिवान अधिकारीहरूले पनि हजारौं मानिसहरूले सीमा पार गरेको तर आईओएमको रिपोर्टभन्दा कम दरमा रहेको बताएका छन् ।
शरणार्थी मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले एएफपीसँग कुरा गर्दै अप्रिलको सुरुदेखि अहिलेसम्म छ हजारदेखि सात हजार अफगानी नागरिक स्वदेश फर्केको जानकारी दिँदै रमजानको अन्त्यसँगै बिदा सकिएपछि आगामी दिनमा यो सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।
उनले भने, ‘हामी पाकिस्तानी अधिकारीहरूलाई अफगानीहरूलाई जबर्जस्ती देश निकाला नगर्न आग्रह गरिरहेका छौँ । दुवै देशबीच सहमतिसहितको उचित संयन्त्र हुनुपर्छ र उनीहरूलाई सम्मानका साथ फिर्ता गरिनुपर्छ ।’
संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ३० लाख अफगानीहरू पाकिस्तानमा बस्छन् र तीमध्ये धेरै आफ्नो देशमा दशकौँको युद्ध र सन् २०२१ मा काबुलमा तालिबानको सत्तामा फर्केपछि त्यहाँबाट भागेका व्यक्ति हुन् ।
तालिवानले कब्जा गरेदेखि नै दुई छिमेकी अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध चिसिएको छ । पाकिस्तानले काबुलका शासकहरूले अफगान भूमिमा आश्रय लिइरहेका पाकिस्तानी लडाकूहरूलाई निस्तेज पार्न असफल भएको आरोप लगाएको छ ।











