Logo
Logo

प्रहरीको मिलेमतोमा झापामा तस्करी


5k
Shares

काठमाडौं । आफ्ना व्याचीहरुको एक वर्ष पूरा नहुदै सरुवा भएपनि शक्तिको आडमा झापा बस्न सफल भैरहेका एसपी मिलन केसी र सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारीले मिलेमतोमा तस्करी मौलाउन दिएका छन् ।

झापा जिल्लाका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करी मौलाउनुमा उनीहरुको हात रहेको भन्दै स्थानीयहरुले समेत गुनासो गरेका छन् । नजिकै रहेका क्यासिनोमा नेपालीहरुलाई सहज छिराउने एसपी केसी र दूर्गा प्रसाई त्यहीबाट भएर भारत जाँदा हेरेर बस्ने सशस्त्र प्रहरीका एसपी भण्डारीले सीमा नाकाको सुरक्षामा समेत लापारवाही गरिरहेको गृहका अधिकारीले पनि बताएका छन् ।

उनीहरु दुवैले तस्करहरुले ल्याएका सामान बरामद गर्न नखोज्दा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुने गरेको छ । भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी हुन थालेको हो । अवैध ओसारपसार बढ्दै गएपछि राजश्व प्रभावित हुन थालेको भन्सार कर्मचारीले जनाएका छन् ।

केही समय अघि सशस्त्र प्रहरी बल झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा अबैध गोदाममा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पाट्र्स बरामद गरे बाहेक अहिलेसम्म खासै सामान बरामद गरेको छैन । अन्य घरमा लत्ताकपडा र मोटर पाट्र्स राजश्व अनुसन्धान कार्यालय इटहरिको टोलीले बरामद गरेको थियो । विशेष सूचनाको आधारमा खटिएको सो टोलीले जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पाट्र्स बरामद भएको थियो । तर यो विषयमा सशस्त्र प्रहरी मौन रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका गणपति एसपी भण्डारी बेखर जस्तै छन् । झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केसी आफूलाई के मतलब भन्दै बसेका छन् । उनीसँगै सरुवा भएका सबै एसपीहरु अर्को स्थानमा पुगिसक्दा पनि पूर्व राष्ट्रपति विद्या भण्डारीको शक्ति भजाएर त्यही बस्न सफल भएका थिए । अहिले उनै एसपी केसी सशस्त्र प्रहरीसँग मिलेर तस्करीमा मौन बसेको स्रोतको दावी छ ।

चोरी तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी तस्करको सेटिङमा अलमलिँदा छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका छन् । मेची भन्सारको कार्य क्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज लगायतबाट चोरी तस्करी फष्टाइ रहेको छ भने भद्रपुर भन्सार अनर्तगतका केचना, घेरावारी, पिण्डालवारी, टागनडुब्बा लगायत नाका राजश्व छलीका लागि सहज बन्ने गरेको छ । झापाका विभिन्न नाकाहरूबाट कपडा, सवारी साधनका पार्टपूर्जा, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट भित्रने गरेका छन् । ‘सशस्त्र प्रहरीका एसपी भण्डारीले सानो सामान बरामद गर्न आदेश दिन्छन् ठूला आयो भने चुपचाप ट्रक पास गराउछन्’, सशस्त्र प्रहरीकै एक अधिकारीले भने ।

चोरी–पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य आपराधिक क्रियाकलाप निस्तेज पार्नका लागि सशस्त्र प्रहरी परिचालन गरे पनि नियन्त्रण हुन सकेको छैन । खुला नाकाका कारण झापाको केचना हुँदै जलथल, ज्ञाने चोक झोलुङ्गे पुल, डाँगीबारी–४ स्थित धरधरिया बाँसझ्याङ, भक्सरभिट्टा, भद्रपुरको मेची पुल, नरसिंह चिया बगान, ज्यामिरगढीको बाटोबाट सामान नेपाल आउने गरेको छ ।

काँकडभिट्टाको मेची भन्सारदेखि केही दक्षिणमा रहेको तिरिङ, नकलबन्दा नाकासमेत प्रयोग हुँदै आएको छ ।दक्षिणी क्षेत्र बनियानी, पाठामारी, केचना, घेराबारी, कुटीलगायतको क्षेत्रबाट अरुण, धर्मेन्द्र, रञ्जीत, जवर नाम गरेका कारोबारीले किराना, कपडा, युरिया मल, इलेक्ट्रोनिक्स, हार्डवेयरका सामान नेपाल भित्र्याउँदै आएका छन् ।

सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको हो । भारतबाट यस्ता वस्तु नेपाल भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ । मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७ र १ नम्बरको सीमास्तम्भ, भद्रपुर–५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमास्तम्भ, भद्रपुर–५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमास्तम्भ र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमास्तम्भ भएका ठाउँबाट भन्सार छलेर साइकलमा फलफूल, तरकारी र माछा भित्रिरहेको स्थानीयवासी बताउँछन् ।

व्यापारीहरूले भारतबाट साइकलमा फलफूल, तरकारी र माछा सीमा नाकासम्म ल्याउने र त्यहाँबाट अटोरिक्सा र टेम्पोमा हालेर भद्रपुर र चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म पुर्याउने गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्