सुनसरी । धरानको चारकोशे जंगलमा एक युवतीको शव भेटिएको छ । पहिचान नखुलेकी युवतीको शव पहिचान गर्न सहयोग गरिदिनु हुन ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक अपिल गरेको छ ।

सुनसरी धरान उपमहानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर, वतन नखुलेको वेवारिसे महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरनका डिएसपी प्रकास जबेगुले बताए । शव पहिचानका लागि सहयोग गर्न कोशी प्रदेशका सबै नागरिक र प्रहरी कार्यालयहरूलाई अनुरोधसहितको अपिल गरिएको उनले बताए ।
शव फेला परेकी युवती अन्दाजी ३० वर्षकी मंगोलियन अनुहारकी छन् । प्रहरीका अनुसार उनको नाकमा नत्था, कानमा टप, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी छन् भने हातमा Bolano घडी र सेतो ब्रासलेट लगाएकी छन् । सेतो खैरो कलरको जुत्ता लगाएकी छन् । ती युवतीको कसैले जंगलमा ल्याएर हत्या गरेको हुन सक्ने डिएसपी जबेगुले बताए ।
युवतीको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनको पहिचान खुलेपछि परिवारका सदस्य बोलाएर शवको शल्य परीक्षण गरिने डिएसपी जबेगुले बताए । घटनाको अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।











