काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कार्यकर्ताहरू सभास्थल बल्खुमा भेला हुनेक्रममा छन् । आज राप्रपाले बागमती प्रदेशस्तरीय सभा गर्दैछ । जिल्ला प्रशासन काठमाडौंले स्थान तोकेअनुसार राप्रपाले बल्खुमा सभा गर्न लागेको हो ।
बल्खु चोकमा आयोजना गरिएको बृहत खबरदारी सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनकारी दिए । दिउँसो १२ बजेबाट आमसभा सुरु हुने भएकाले साढे ११ बजेसम्म कार्यक्रमस्थल पुगिसक्न राप्रपाले अपिल गरेको थियो ।
प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ । राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको सो पार्टीले अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने बताउँदै आएको छ ।
यसअघि चैत १५ मा राजवादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको थियो । आजको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा रणनीति सोहीअनुसार बनाएको छ । आज सुरक्षा स्थलमा दुई हजारभन्दा बडी सुरक्षाकर्मी तैनाथ छन् ।











