काठमाडौको सुरक्षा व्यवस्था अत्यन्तै कमजोर देखिएको छ । तीनकुनेमा राजावादीले गरेको आन्दोलन नियन्त्रण लिन मात्रै होइन अन्धाधुन्द गोली प्रहार हुँदा राजधानीकै सुरक्षा व्यवस्था कमजोर देखिएको हो । सुरक्षा संवेदनशीलता भएको स्थानमा प्रर्दशन तथा आमसभा स्थल तोकेर गम्भीर गल्ती गरेका काठमाडौका प्रमुख जिल्ला अधिकारी र काठमाडौ परिसरको कमाण्ड गरिरहेका एसएसपीलाई गृहले उन्मुक्ति दिइसकेको छ । उनीहरुले अब जति गल्ती गरेपनि केही नहुने अवस्था सिर्जना भएको छ ।

राजावादी समूहका उदण्ड पक्षलाई गलत स्थानमा आमसभा र प्रर्दशन गर्न दिएर उदण्डता मच्चाउन दिने नियन्त्रणमा लिन नसकेपछि जथाभावी बल गर्ने यी दुई निकायका प्रमुखलाई सरकारनै लागेर बचाएको छ । उनीहरुलाई अहिलेसम्म के भएको हो भनेर सोधीखोजी समेत गरिएको छैन । उल्टै गृहमन्त्रालयले काठमाडौ परिसरलाई अनुसन्धान गर्ने जिम्मा दिएर बल प्रयोगलाई दबाउने र गतल स्थान तोकेको विषयलाई नउठाउने नीतिमा रहेको छ ।
सो घट्नामा दुई जनाको ज्यान जाने गएको छ भने २० बढी घाइते भएका छन् । गत वर्ष मात्र ललितपुर बालकुमारीमा गोली चल्दा ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रूद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएका थिए । दक्षिण कोरिया जाने रोजगारी अनुमति प्रणाली(ईपीएस)को परीक्षा दिन पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा गोली चल्दा तत्कालीन सिडिओ पण्डित गृह मन्त्रालय तानिएका थिए । यसका फिल्ड कमाण्डर उमेश लम्साललाई कारवाही गरिएको थियो ।
अहिले तीनकुनेमा त्योभन्दा ठूलो क्षति हुँदा पनि काठमाडौंका ऋषिराम तिवारी हाइ काढेर जिल्ला प्रशासन कार्यालयमा बसिरहेका छन् । उनी त्यहाँ जनाका लागि गृहमन्त्री र कांग्रेसको उच्च शक्ति प्रयोग गरेका थिए । गृहमन्त्री रमेश लेखकले हिंसात्मक, अमर्यादित, अमानवीय तरीकाले तीनकुनेमा प्रर्दशन भएको आरोप लगाएका छन् । यसको अर्थ उनले सुरक्षा अंगलाई सहयोग गरेको भएपनि कमाण्डरले गरेको कार्यको बारेमा पनि कुनै छानवीन नगर्ने संकेत गरेका छन् ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चढेको गाडीमाथि ललितपुरको बालकुमारीमा आक्रमण भएपछि गोली चलेको थियो । बालकुमारीमा गोली चल्दा २ जनाको ज्यान गएको थियो। उक्त घटनालगत्तै ललितपुरका सिडिओ पण्डित, एसएसपी सिद्धिबिक्रम शाहको जिम्मेवारी खोसिएको थियो । पण्डितको ठाउँमा तुलसीबहादुर श्रेष्ठ र शाहको ठाउँमा एसएसपी शेखर खनाललाई पठाइएको थियो । उनै श्रेष्ठलाई भने बाढी पहिरोको बेला गरिएको गल्तीमा छुट दिइयो ।
इपीएस कोरिया शाखाका निर्देशक(उपसचिव) गुरुदत्त सुवेदी पनि हटाइए भने फिल्ड कमाण्डर डिएसपी उमेश लम्साल र मन्त्रीका (पीएसओ) बोधराज दनुवारलाई निलम्बन परे । अहिलेको त्योभन्दा ठूलो जनधनको क्षति भएको घटना हो । तर, गृह मन्त्रालयले उक्त घटनामा जिम्मेवार सुरक्षा प्रमुखलाई संरक्षण गरेको छ । यसअघि पनि गृहमन्त्रालयले साउनमा बाढी पहिरोमा कमजोरी गरेका विषयमा पनि सुरक्षा अंगलाई चलाउन चाहेको थिएन । उनीहरुलाई संरक्षण गरेको थियो ।
प्रहरी कै अनुसार गत चैत १५ गते तीनकुनेमा राजावादी र व्यवस्था विरोधीहरू गरेको शक्ति प्रदर्शनमा ५८ राउण्ड गोली प्रहार भएको थियो । त्यसमा दुई राउण्ड गोली त पेस्तोलबाटै चलाएको प्रहरी कै भनाइ छ । प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले ‘प्रहरीले न्यूनतम बल प्रयोग’ गरेको बारम्बर दोहो¥याउँदै एउटा विवरण पनि सार्वजनिक गरेको थियो । जसअनुसार भीड नियन्त्रण गर्न ५८ राउन्ड गोली र ७६४ वटा अश्रुग्यास प्रहार गरेको थियो । ५८ राउन्डमध्ये कति जंगी राउन्ड साँच्चिकैको गोली,कति हवाई फायर र कति रबर बुलेट हो भन्ने उनले खुलाएका थिएनन ।
प्रहरीले प्रदर्शनकारी भएको ठाउँतिर ७ सय ४६ सेल अश्रुग्याँस प्रहार र १ सय ९२ पटक ब्ल्यांक फायर भएको जनाएको छ । प्रहरीले चलाएको गोली २ महिला र १८ पुरूष गरी २० जनालाई लाग्यो । गोली लागेर १ जना (सविन महर्जन)को मृत्यु भयो भने ५१ जना घाइते भए । २० जना अझै अस्पतालमा उपचाररत रहेका छन् । त्यति मात्र होइन तीनकुने कै एक घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको जलेर निधन भयो । दर्जनौं सरकारी गाडी जले । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय आगो लाग्यो । त्यहाँका आठवटा गाडी समेत जलाइयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिसरमा रहेको नेपाल आयल निगमको डिपो आगलागीबाट वालवाल बचेको थियो । अन्नपुर्ण पोष्टको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भयो । कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा भयो । कोटेश्वर कै भाटभटेनी सुपरमार्केटमा लुटपाट भयो । प्रहरी कै डाटा अनुसार पनि यति ठूलो घटनामा जिम्मेवार रहेका काठमाडौंका सिडिओ ऋषिराम तिवारी र एसएसपी विश्व अधिकारी भने अहिलेसम्म उन्मुक्ति पाइरहेका छन् ।
कमजोर कमाण्डका कारण आन्दोलनका ‘जनकमाण्डर’ भनिएका दुर्गा प्रसाईंले प्रहरीको ज्यानै लिने गरी गाडी हुँइक्याउँदा पनि नियन्त्रण लिन आदेश पाएका थिएनन । फिल्डमा खटिएका प्रहरीलाई घुडामुनिमात्रै लाठी हान्न दिएर फिल्डमा कमजोरी अपनाइयो तर जब भीड अनियन्त्रित भएर तितरवितर भएर बाहिरिएपछि जथाभावी गोली प्रहार भयो । यसबाट ठूलो जनधनको क्षति भयो ।
तत्काल नियन्त्रणमा लिनुपर्ने दूर्गा प्रसाईं गृह प्रशासनको कमजोरीका कारण फरार भएका छन् । निर्दोष मान्छेलाई अन्धाधुन्ध गोली हानिएको छ । मानवअधिकारको समेत गम्भीर उल्लंघन भएको समाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ/फुटेजहरूले संकेत गरेको छ । तीनकुने घटनामा जिम्मेवारी अधिकारीहरू गम्भीर रूपमा चुकेका छन् । प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ३९वटा सवारीसाधानमा आगजनी भएको थियो ।