Logo
Logo

ओलीले धम्क्याएपछि अक्क न वक्क प्रचण्ड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक द्वन्द्व समाधानको बाटोमा जानुभन्दा पार्टी फुटको बाटोमा जाने खतरा बढेपछि स्थायी कमिटीको बैठक बिनानिष्कर्ष स्थगित भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदमध्ये एउटा पद छाड्नुपर्ने दबाब आएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तिक्ततापूर्ण अवस्था खडा भएको छ । ओली र प्रचण्डबीच गत साउन २५ गते बिहीबार भएको भेटघाटमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान राखे र अर्का अध्यक्ष प्रचण्डलाई भने– ‘तपाईंलाई प्रधानमन्त्री चाहिएको हो भने महाधिवेशन कुर्नुस्, प्रधानमन्त्री चाहिएको हो भने निर्वाचन कुर्नुस् । प्रधानमन्त्री ओलीको मुखबाट यस्तो वाक्य निस्किएपछि अक्क न वक्क भएका प्रचण्डले त्यसो भए बैठक एक हप्तालाई सारौं, म पनि बाढीपीडितलाई सहयोग गर्न चितवन जान्छु भने ।’ कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पनि भूमिकाविहीन जस्तो बनेका प्रचण्ड अहिले गृहजिल्लाको भ्रमणमा छन् ।

गृहजिल्ला चितवन पुगेर प्रचण्डले भने– मैले पदका लागि हतार गर्न खोजेको भए, दुर्घटना अथवा अर्को के हुन सक्थ्यो, म भन्न सक्दिनँ । तर पार्टी एकतालाई कमजोर हुन नदिन र पार्टीभित्रको विवाद मिलाउन म हिँडेको छु उनले भने । त्यसो त २५ गते बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीचको कुराकानीमा प्रधानमन्त्री ओलीले पार्टी एकता गर्दा भएको सहमतिमा आफू प्रतिबद्ध भएको बताउँदै प्रचण्डलाई घुमाउरो तरिकाले माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई साथ छाड्न आग्रह गरेका थिए । बालुवाटार स्रोतका अनुसार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डलाई अगाडि सारेर ओलीलाई कमजोर बनाउन खोजेकोले त्यसको बदला लिन ओलीले दुवै पद नछाड्ने अडान लिएका हुन् । यदि २०७५ जेठ २ गते पार्टी एकता गर्दा भएको सहमतिमा प्रचण्ड अड्न सकेको भए अहिले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओली बाध्य हुने थिए । तर २०७६ मंसिर ४ गते प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्रीको जिम्मेवारी ओलीलाई सुम्पिए । जसले ओलीलाई बलियो बनायो, प्रचण्डलाई कमजोर ।

प्रधानमन्त्री ओलीले वैशाख ८ गते पार्टी विभाजन र संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश ल्याएदेखि नै प्रचण्ड, नेपाल, खनाल र गौतम सशंकित हुँदै आएका छन् । पार्टीमा छलफल नै नगरी मनपरी विधेयक ल्याउनेदेखि राजनीतिक नियुक्तिहरु गर्न थालेदेखि नै ओलीसँग सचिवालय सदस्यहरु रुष्ट बन्दै आएका छन् । संघीय समाजवादी फोरमका दश जना सांसद फोड्न उक्त विधेयक ल्याएको स्पष्टीकरण प्रधानमन्त्री ओलीले दिए पनि उनको पछिल्लो गतिविधिले ओली पद नछाड्ने बरु पार्टी फोड्ने मनस्थितिमा पुगेको निष्कर्ष प्रचण्डको रहेको छ । सभामुखसँग सल्लाह नगरी संसद् अन्त्य गरिएको घटनालाई समेत कुनै दुर्घटना निम्त्याउने नियत लुकेको आरोप लगाइएको छ । त्यति मात्र होइन, प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर आफू जस्तोसुकै अप्रिय निर्णय गर्न पनि पछाडि नहट्ने हुँदा मन्त्रीहरुलाई कित्ताकाट गर्न आग्रह गरे । यो अनिष्टको संकेत थियो । त्यसलाई टार्न पनि प्रचण्ड एक कदम पछाडि हटेर चितवन गएका हुन् ।

पटक–पटक बसेको स्थायी कमिटी बैठक सामना गर्न नसक्ने अवस्थामा प्रधानमन्त्री ओली पुगेपछि कहिले बैठक स्थगित गर्ने त कहिले प्रचण्ड, माधव नेपाललाई धम्क्याउने गर्दै आएका छन् । यो कुराले छिमेकी चीनलाई समेत चिन्तित तुल्याएको छ र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्सीको सक्रियता बढेको छ । असार १४ गते मदन भण्डारी जयन्तीमा प्रधानमन्त्री ओलीको मुखबाट आफूलाई भारतले सत्ताबाट हटाउने खेल खेलेको आरोप लगाएपछि चिनियाँ चासो बढेको हो । अहिलेको शान्त राजनीतिक वातावरण चिनियाँ प्रभाव हो भनिन्छ ।

देशभर कोरोना भाइरसको बढ्दो संक्रमण र बाढीपहिरोले ठूलो धनजनको क्षतिका कारण स्थायी कमिटीको बैठक साउन २ गते शुक्रबारका लागि सारिएको छ । साउन २ गते बस्ने स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिने हुँदा सम्भवतः त्यो बैठक पनि स्थगित हुनेछ । किनभने अहिलेसम्म ओली र प्रचण्डबीचको मिलनविन्दु नै फेला पार्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्