काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् ।
आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए ।

नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् ।
बुधबार जगमान गुरुङ नेतृत्वको राजावादी अभियानको बैठकबाट बाहिरिएपछि उनले भने ‘म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले मलाई देउवाले पार्टीबाट निकालेका हुन्, अहिले हामी फेलियर स्टेट (असफल राष्ट्र)मा छौँ । यहाँ न्यायपालिकाकाले काम गर्न सकेको छैन, सरकार सरकारजस्तो छैन । राज्यका कुनै पनि अंंगले काम गर्न सकेका छैनन् ।’
उनले देश जोगिए राजावादी वा लोकतन्त्रवादी हुन पाइने भन्दै आफू देश जोगाउने अभियानमा लागेको दाबी समेत गरे ।











