काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको सन्देश दिएका छन् ।

उनले भनेका छन् ‘मलाई प्रहरीले खोजिरहनु पर्दैन, म नैपालमै छु, कुनै ठाउँमा छु । मानवअधिकारीवादी र वकिलहरूको रोहवरमा सार्वजनिक हुन तयार छु ।’
प्रसाईंले थप भनेका छन्, ‘म रहे भने यो अभियान, जनविद्रोह सफल हुन्छ, म नै रहेन भने यो जनविद्रोह दबाएर जान्छ ।’
उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरेका छन् । चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।











