काठमाडौं । यही चैत १५ गते राजावादी समर्थकले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई नेपाल ल्याइँदैछ ।

दुर्गा प्रसाइँको सचिवालयले पनि दुर्गा पक्राउ भएको पुष्टि गरेको छ । प्रसाईको सचिवालयले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आत्म रक्षाका लागि भारतको पुर्वोत्तर राज्य आसामको प्रहरीसमक्ष आत्मसमपर्ण गरेको जनाएको छ ।
प्रदर्शनका क्रममा प्रहरीलाई गाडीले पेलेर निषेधित क्षेत्र तोड्दै अघि बढेका प्रसाईं केहीबेरपछि प्रदर्शन स्थलबाट ज्यान जोगाउन भन्दै भागेका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।
यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदासमेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना हुँदै आएको थियो ।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्रशैलीका कारण एक पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो ।