काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउन माग गरेका छन् । ज्ञानेन्द्र जबाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ दिने गरी संसदीय समितिमा बोलाउनुपर्ने माग राखेको हुन् ।

कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।
उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भए पनि बोलाएर घटनाबारे सोधपुछ गरौँ ।’ पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले भने , ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जबाफदेही बनाउनुपर्ने माग राखेका छन् । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ ।
सो घटनामा मुछिएको आरोपमा प्रहरीले थुप्रैलाई पक्राउ गरेको छ । प्रहरी सो कार्यक्रमको आयोजक रहेका दुर्गा प्रसाईँ पनि पक्राउ गरेको छ।











