काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्कीका बोतल चोरेर हिँड्नेहरूले क्रान्ति गर्छौ भन्नु बेतुकको विषय भएको बताएका छन् । शुक्रवार बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरू भएको भन्दै उनीहरू अलिअलि मान्छे देख्दा हौसिने गरेको बताए ।

‘प्रतिगमनका हल्लाहरू छन् । अलिअलि मान्छे देख्यो भने हौसिन्छन् । अनि क्रान्ति गरेको रे ! कस्तो क्रान्ति भन्दा मान्छेका घरमा आगो लगाएको छ, मान्छे मारेको छ, तोडफोड गरेको छ, ढुंगा हानेको छ, कसको घरमा ढुंगा हानेँ थाहा छैन । पसल लुटेको छ’, प्रधानमन्त्रीले भने, ‘वियरका वोतल लिएर भाग्नेहरुले क्रान्ति गर्छन् ? ह्वीस्कीका वोतल चोरेर भाग्नेहरुले क्रान्ति गर्छन् ? त्यस्ताले क्रान्ति गर्ने ? समाजमा परिवर्तन गर्ने ? उपद्रो गर्ने जिम्मा नलिने रु कोहीले जिम्मा लिनुपर्दैन ?’
उनले प्रतिगमनकारीले त्रास र आतङ्क फैलाउने काम मात्र गरेको बताए । ‘कोही सारी लुङ्गी बोकेर कुदेका छन् अनि यो सरकारले यसो गरेन र उसो गरेन भनेर हिँडेका छन्,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीले १५ चैत तिनकुनेमा राजावादीहरूले गरेको आन्दोलन र त्यसका परिदूश्यहरुलाई नोटिस गर्दै सो अभिव्यक्ति दिएका हुन् ।
प्रधानमन्त्री ओलीले २०७२ को संविधानपछि केही नभएको भन्ने भाष्य गलत रहेको भन्दै धेरै भएको तर अझै गर्न बाँकी रहेको बताए । उनले एमाले सधैं जनताको पक्षमा रहेको र काम गरिरहेको भन्दै देश अस्थिरतामा नजावस् भनेर नै वर्तमान गठबन्धन र सरकार बनेको बताए ।











