Logo
Logo

तीनकुने घटनापछि दुर्गा प्रसाईँको यात्रा 


3.2k
Shares

काठमाडौं । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले भारतको आसामबाट पक्राउ गरेको छ । उनी पूर्वी नाका काँकडभिट्टा हुँदै भारत पसेका थिए ।

प्रहरी स्रोतका अनुसार प्रसाईँ भारतको नयाँ दिल्ली, प्रयागराज, लखनउ हुँदै फेरि आसाम पुगेका थिए । प्रारम्भिक अनुसन्धानमा उनले यी सबै स्थानमा पुगेको स्वीकारेका छन् । प्रहरीले अनुसन्धानका लागि अदालतबाट म्याद लिएर औपचारिक बयान प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ ।

प्रसाईँले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा अघि सारेका कारण भारतको सहयोग पाउने आशामा लखनउ पुगेको शङ्का गरिएको छ । प्रहरीको भनाइमा उनले आरएसएससँग सम्बन्धित केही नेतासँग सम्पर्क खोजे पनि अपेक्षित सहयोग नपाएपछि पुनः आसाम फर्केका थिए ।

लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने प्रयास गरे पनि उनले कुनै प्रतिक्रिया नदिएपछि प्रसाईँले आफू जोखिममा रहेको महसुस गरेका थिए । यसअघि आदित्यनाथले नेपालमा राजसंस्था पुनःस्थापनासम्बन्धी गतिविधिमा कुनै संलग्नता नरहेको जवाफ दिएको नेपाली दूतावास स्रोतले जनाएको छ ।

तीनकुनेमा प्रहरीमाथि गाडी चलाएर भागेका प्रसाईँ काठमाडौंका विभिन्न स्थान हुँदै सिन्धुली, उदयपुर र झापा पुगेका थिए । झापाबाट काँकडभिट्टा नाका पार गरेपछि उनी भारत प्रवेश गरेका थिए । भारतको सिक्किम र सालबारी हुँदै १७ चैतमा आसाम पुगेका उनी त्यहाँ एक स्थानीय नेताको घरमा बसेका थिए । प्रहरीका अनुसार उनले त्यही स्थानबाट पहिलो भिडियो सन्देश जारी गरेका थिए, जसमा आफू काठमाडौंकै मन्दिरमा भएको दाबी गरेका थिए ।

यसपछि उनले प्रयागराजमा केही हिन्दु धर्मगुरु र आरएसएससम्बद्ध व्यक्तिहरूसँग भेट गरेका थिए । त्यहाँबाट लखनउ र त्यसपछि दिल्ली हुँदै २२ चैतमा पुनः आसाम फर्किएका थिए ।

२३ चैतमा उनले दोस्रो भिडियो सार्वजनिक गर्दै ‘सुरक्षा सुनिश्चित भए २४ घन्टामा उपस्थित हुने’ भनेका थिए । तर प्रहरीका अनुसार, भारतमा उनलाई सहयोग नपाउने स्थिति देखिएपछि आफू पक्राउ पर्न सक्ने अनुमान गरी उक्त भिडियो सार्वजनिक गरेका थिए ।

भोलिपल्टै नेपाली प्रहरीले भारतीय प्रहरीको सहयोगमा प्रसाईँ बसेको स्थानमा छापा मारेको थियो । उनलाई पक्राउ गरी स्थलमार्ग हुँदै काँकडभिट्टा ल्याइयो र त्यहीँबाट विमानमार्फत काठमाडौं ल्याइयो ।

प्रतिक्रिया दिनुहोस्