काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूको माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने बताएका छन् ।

दाङमा शुक्रवार भएको काँग्रेसको कार्यक्रममा बोल्ने क्रममा शर्माले शिक्षकको आन्दोलन र सम्बोधन गर्नुपर्ने सात बुँदा राखेका बताए । महामन्त्री शर्माले अध्यादेश ल्याएर शिक्षकका मागहरू पूरा गर्दा संवैधानिक प्रश्न उठ्ने बताए ।
‘प्रक्रियामा थप १ महिना अरू समय लाग्दा फरक पर्दैन । शिक्षक महासङ्घ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेशमार्फत जारी गर्दा निश्चयनै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकताप्रति स्पष्ट रहनुपर्छ,’ शर्माले भने ।
शर्माले विधेयक संसद्को आगामी अधिवेशन सुरु हुने पहिलो दिन नै पेस गर्ने गरी सहमतिमा खोज्नुपर्ने बताए । शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइमा एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन नमिल्ने महामन्त्री शर्माको भनाइ रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारले शिक्षकका मागहरू सम्बोधन गर्ने भन्दै आन्दोलन गरिरहनूको कुनै अर्थ नभएको बताएका छन् । शिक्षक महासङ्घको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सरकारसँग आफ्ना माग पूरा गराउन निरन्तर प्रदर्शन गर्दै आएका छन् ।











