Logo
Logo

जसपा नेपाललाई अधिवेशनको चटारो


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल हाल अधिवेशनको तयारी र सम्पन्नतामा व्यस्त देखिएको छ । पार्टी प्रचार, प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार जिल्ला समिति, भ्रातृ सङ्गठन, पेशागत सङ्गठन तथा जातीय–सामुदायिक सङ्गठनहरूको अधिवेशन र भेला तीव्र गतिमा अघि बढिरहेको छ ।

बस्नेतका अनुसार केही जिल्ला समिति र भ्रातृ सङ्गठनहरूले आफ्नो अधिवेशन सम्पन्न गरिसकेका छन् भने अन्यले कार्यतालिका सार्वजनिक गरी तयारी थालिसकेका छन् । यसैक्रममा, जसपा नेपालले रौतहट र पर्सा जिल्ला समितिको अधिवेशन सम्पन्न गरेको छ ।

रौतहटको गरुडामा सम्पन्न अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेका थिए । सो अधिवेशनबाट राजीव रञ्जनको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्वाचित भएको छ ।

पर्सा जिल्लामा आयोजित अधिवेशनमा पार्टी महासचिव तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए । सो अधिवेशनले रामनरेश प्रसाद यादवको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ ।

यस्तै, शुक्रवार बालकुमारीमा आयोजित भेलाबाट पञ्चराम तामाङको अध्यक्षतामा समाजवादी तामाङ सङ्घको केन्द्रीय समिति गठन गरिएको छ । कार्यक्रममा पार्टी उपाध्यक्ष शिवलाल थापा मगर लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो ।

पार्टीसम्बद्ध भ्रातृ सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपालको भैरहवामा सम्पन्न केन्द्रीय महाधिवेशनले मनिस यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ ।

त्यस्तै, समाजवादी खस सङ्घ र समाजवादी मगर सङ्घले मातहत समितिहरूको अधिवेशनका लागि पूर्व तयारी स्वरूप भेला सम्पन्न गरिसकेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्