नकाठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन नगरी २०८४ को निर्वाचनमा जान नहुने बताएका छन् । धनकुटामा शनिवार आयोजित पार्टी कार्यक्रममा उनले संविधानमा रहेका केही प्रावधानहरू : निर्वाचन प्रणाली र उपराष्ट्रपतिको भूमिकामा संविधान संशोधन आवश्यक रहेको बताए ।

‘संविधानभित्र धेरै व्यवस्था छन्, तर कतिपयमा संशोधन गर्न जरुरी भइसकेको छ,’ थापाले भने, ‘निर्वाचन प्रणालीमा सुधार र उपराष्ट्रपतिको भूमिकालाई जिम्मेवार बनाउन संशोधन अपरिहार्य छ।’
उनले काँग्रेसले विगतमा जस्तै अब पनि राष्ट्रिय समस्याको समाधानमा नेतृत्व लिनुपर्ने बताए । गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्मको नेतृत्वलाई उदाहरण दिँदै उनले काँग्रेसले माओवादीसँग वार्ता गरेर शान्ति प्रक्रिया अघि बढाएको र सबै पक्षलाई समेटेर संविधान बनाएको स्मरण गरे ।
थापाले नागरिकबिच बढ्दो असन्तुष्टि काँग्रेसका लागि चुनौती र जिम्मेवारी दुवै भएको बताए । ‘असन्तुष्टिलाई निराशामा परिणत हुन दिनु हुँदैन,’ उनले भने, ‘जनताको अपेक्षा पूरा गर्ने जिम्मा फेरि हाम्रो काँधमा आएको छ ।’











