काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब तोडफोड, आगजनी, हत्या र हिंसाका गतिविधि सह्य नहुने बताएका छन् । शनिवार झापाको दमकमा नेकपाले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यलाई उदाहरण दिँदै यस प्रकारका गतिविधिको कडा आलोचना गरेका हुन् ।

‘जनतालाई उक्साएर आफ्नो स्वार्थ साध्न खोज्नेहरू, गणतन्त्र समाप्त गरेर फेरि राजतन्त्र फर्काउने सपना देख्नेहरू—उनीहरूको हैसियत के हो भन्ने तीनकुनेमा देखियो,’ उनले भने, ‘केही सडकछाप मानिसहरू राजा फर्काउने भनेर गाडीको हुटमा हात हल्लाउँदै हिंडिरहेका थिए । यस्तो शैली, यस्तो तरिका कस्तो हो ?’
प्रधानमन्त्री ओलीले आफूहरू शान्तिपूर्ण प्रदर्शन गर्ने दाबी गर्ने तर व्यवहारमा आगजनी, चोरी, र तोडफोडमा संलग्न भएको आरोप पनि लगाए ।
‘तीनकुनेमा जसरी पसल लुटिएको, रक्सी र स्याउ चोरेर भागिएको, औषधि कारखाना जलाइएको—यस्तो दृश्य हेर्दा के तिनले क्रान्ति गर्छन्र”देश परिवर्तन गर्छन्र’ उनले प्रश्न गरे ।
राजतन्त्र पुनःस्थापनाको माग गर्दै गरिएको प्रदर्शनप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘राजा फर्काउने रे ! राजा फर्काएपछि आफू प्रधानमन्त्री बन्ने रे! तिनलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनाएको भए अझ राम्रो हुन्थ्यो ।’ उनले सरकारको नेतृत्वमा आफ्नो पार्टीले सधैँ सकारात्मक काम गरेको पनि दाबी गरे ।











