
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आफू विरुद्ध लगाइएका गम्भीर आरोपप्रति आफ्नै पार्टी र बौद्धिक वर्ग मौन बसेकोप्रति गुनासो गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ‘१७ हजारको हत्यारा’भन्ने आरोप निराधार भएको दाबी गरे । युद्धको सन्दर्भमा लागेको यस्तो आरोपलाई उनले इतिहासलाई पछाडि धकेल्ने प्रयासको संज्ञा दिए ।
‘म माथि लगाइएका आरोप युद्धको नियमअनुसार भएका घटनाहरूलाई तोडमोड गरेर प्रचार गरिएको हो,’उनले भने, ‘मैले अहिलेसम्म एक जनालाई पनि पिटेको छैन, हत्या त परको कुरा हो । युद्धको नेतृत्व गरेँ, शान्तिमा आएपछि जिम्मा लिने भने । तर यति धेरै झूटो प्रचार भइरहँदा बुद्धिजीवीहरू मौन छन्, खण्डन गर्दैनन् ।’
उनले माओवादी केन्द्रले नै सबैभन्दा ठूलो जोखिम उठाएर सेना समायोजन र हतियार व्यवस्थापन प्रक्रिया अघि बढाएको पनि स्मरण गराए ।’हतियार आजकै दिन व्यवस्थापन नगरे भोलि हत्या हुन सक्छ भनेर चेतावनी दिने र तत्काल प्रक्रिया अघि बढाउने पार्टी माओवादी केन्द्र नै थियो,’उनले थपे ।
प्रचण्डले आफ्नो पार्टीमाथि जनसमूहका एक हिस्साले अझै पनि पूर्वाग्रही दृष्टिकोण राखेको उल्लेख गरे । ‘हाम्रो योगदानको कदर गर्नुको सट्टा, उल्टो ‘१७ हजारको हत्यारा’ भन्ने गलत नेरेटिभ बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘म सबै बुद्धिजीवी साथीहरूलाई यस विषयमा गम्भीर चिन्तन र बहस गर्न आग्रह गर्छु ।’











