विराटनगर । नेकपा एमालेले दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र संघीयता विरोधी हरकतका विरोधमा गरिएको सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ ।

आइतबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जागारण सभामा भएको खर्च सार्वजनिक गरेका हुन् । सोक्रममा वडावडाबाट आफैँले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको उनले बताए ।
इन्चार्ज राईले सरकारसँग एक रुपैयाँ पनि खर्च नलिएको बताउँदै भने, ‘हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौँ ।’
उनले मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वयंमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताए ।
यस्तै, जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । स्वयंसेवकहरूले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको उनले बताए ।
नेकपा एमाले कोशीले शनिवार झापाको दमकमा जनजागरण सभा गरेको थियो । सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए ।