काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा मन्त्रालयका उच्च अधिकारीहरूको टोलीले आज मन्त्रालय अन्तर्गतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेको छ ।

हालका दिनमा कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने गुनासो बढेपछि मन्त्री यादव, सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी लगायतको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सबै शाखाहरूमा अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सम्पूर्ण कर्मचारीहरू उपस्थित पाइए पनि मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सहसचिव रामबाबु पुरीका अनुसार, ‘मन्त्रीज्यूको आकस्मिक अनुगमनका क्रममा मेलम्चीमा १६ जना कर्मचारी गैरहाजिर भेटिएका छन् ।’
अनुगमनपश्चात सहसचिव पुरीले कर्मचारीहरूको समयमा उपस्थित हुने व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिए । मेलम्ची विकास समितिमा हालसम्म विद्युतीय हाजिरी प्रणाली लागू नभएकोले वैशाख २ गतेदेखि अनिवार्य रूपमा उक्त प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । साथै, कार्यालय समयमा काम विशेषले बाहिर जानु परेमा ‘लकबुक’मा विवरण राख्न निर्देशन समेत दिइएको छ ।
मन्त्री यादवले अनुगमनका क्रममा उपस्थित कर्मचारीहरूसँग काममा भोगिने समस्याबारे समेत जानकारी लिएको मन्त्रालयले जनाएको छ ।